शनिबार, साउन १२, २०८१
02:51 | ०७:३६

बेलायतमा ८० प्रतिशत तलब सरकारले दिने ‘फर्लो स्किम’ मार्चसम्म लम्ब्याउने घोषणा

सरकारले जनवरीमा 'रिभ्यू' गर्ने

नेपाली लिङ्क नोभेम्बर ५, २०२०

लण्डन । बेलायतमा महामारीका कारण सञ्चालन हुन नसकेका कम्पनीमा कार्यरत कामदारको तलब सरकारले नै व्यहोर्ने ‘फर्लो स्किम’ आउँदो वर्षको मार्चसम्म लम्ब्याइने भएको छ ।

विहीबार अर्थमन्त्री ऋषि सुनाकले कामदारहरुको ८० प्रतिशतसम्म तलब सरकारले नै प्रदान गर्ने उक्त स्कीम मार्चसम्म पुर्याउने घोषणा गरेका हुन् । ‘हाउस अफ कमन्स’ मा सांसदहरुलाई सम्बोधन गर्दै मन्त्री सुनाकले आउँदो जनवरीमा फर्लो स्कीम सरकारले पुनरावलोकन (रिभ्यू) गर्ने बताए ।

यसअघि अक्टोबर अन्त्यबाटै फर्लो स्किम हटाउने भनिएपनि इंग्ल्याण्डमा दोस्रो चरणको लकडाउन घोषणा भएपछि एक महिना थप गरेर नोभेम्बर महिनाका लागि लम्ब्याइएको थियो ।

महामारी नियन्त्रण प्रयासमा लागू गरिएका प्रतिवन्धहरुका कारण बन्द र प्रभावित कम्पनीका कामदार फर्लो स्कीमका लागि हकदार छन् । यो स्कीमअन्तर्गत सरकारले एकजना कामदारलाई मासिक २५ सय पाउन्ड ननाघ्ने गरी ८० प्रतिशतसम्मको तलब खुवाउँदै आएको छ ।  

फर्लोको सहारामा बेलायतमा दशौं लाख कामदारले आफ्नो रोजगारी बचाउन सफल भएका छन् भने हजारौं कम्पनी बन्द हुनबाट जोगिएका छन् । गत मार्चमा बेलायतमा पहिलो लकडाउन शुरु भएदेखि कार्यान्वयनमा ल्याइएको फर्लो स्कीममा अहिलेसम्म सरकारले ४० विलियन पाउण्ड खर्च गरिसकेको छ । यो सुविधाबाट करिब एक करोड कामदार लाभान्वित बनेको तथ्यांक छ ।

फर्लो स्कीममा सरकारले खर्च गरेको कुल रकममध्ये १० प्रतिशत भने ठगी र दुरुपयोग भएको हुन सक्ने ठानिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू