शुक्रबार, चैत १६, २०८०
10:09 | १५:५४

चौतर्फी विरोधपछि ‘गल्ती’ सच्याउन बाध्य बन्यो दूतावास

‘पिएचडी विज्ञ’ संगको कार्यक्रम शुरुमै विवादमा

नेपाली लिङ्क नोभेम्बर ३, २०२०

लन्डन । ‘नेपाल डेभलपमेन्ट कन्फरेन्स’ (नेपाल विकास सम्मेलन) भनेर लन्डनस्थित नेपाली दूतावासले गर्न लागेको एक कार्यक्रम शुरुमै विवादमा परेको छ ।  

आउंदो शनिबार भर्चुअल माध्यमबाट गर्ने भनिएको कार्यक्रममा विज्ञको रुपमा पिएचडी होल्डर र पुरुषहरु मात्रै राखिएकोप्रति चरम असन्तुष्टी व्यक्त भएपछि दूतावास ‘गल्ती’ सच्याउन बाध्य बनेको छ ।

सामाजिक सन्जालमार्फत धेरैले उक्त कार्यक्रममा विज्ञ वक्ताको रुपमा कुनै पनि महिला नराखेर सबै पुरुष राखिएकोमा आपत्ति जनाएका थिए । त्यस्तै, विज्ञ हुन पिएचडी उपाधि नै लिएको हुनुपर्ने भन्दै पिएचडीहोल्डरलाई मात्र समेट्ने दूतावासको नीतिमा विरोध जनाइएको थियो ।

दूतावासले नेपालको विकासको सन्दर्भमा यूकेमा बस्ने पिएचडी स्कलरहरुको ‘भ्यू’ र ‘भिजन’ खोज्न भन्दै यो भर्चुअल सम्मेलन आयोजना गर्न लागिएको बताएको छ । जुन कार्यक्रमको प्यानलमा  ‘कि नोट स्पीकर’ प्रा डा सुर्य सुवेदी छन्  भने ‘प्रिजेन्टर’ भनेर डा पदम सिम्खडा, डा कृष्णप्रसाद अधिकारी, डा बच्चुकैलाश कैनी, डा विरेन्द्र श्रेष्ठ र डा भाष्कर अधिकारीलाई राखिएको छ । चौतर्फी  विरोध भएपछि प्यानलमा डा पुनम यादवलाई थपेर प्यानल समावेशी बनाउने कोशिश् गरिएको छ ।  

६ जना पिएचडीहोल्डर पुरुष वक्ताहरुको नाम र तस्विरसहितको ‘प्यानल’ मंगलबार दिउंसो सार्वजनिक भएलगत्तै सामाजिक सन्जालमा व्यापक विरोध भएको थियो । दूतावासकै फेसबुक एकाउन्ट र ट्वीटर पेजमा गरिएका पोष्टमा समेत कयौंले विरोध जनाउँदै कमेन्टहरु लेखेका थिए ।  

कार्यक्रममा एक वक्ताका रुपमा सहभागी हुन लागेका डा कृष्ण अधिकारीले समेत दूतावासको वक्ता छनोट नमिलेको र समावेशी हुन नसकेको स्वीकारेका थिए । सामाजिक सन्जालमा कार्यक्रमको विरोध गर्नेहरुको कमेन्टमा जवाफ लेख्दै डा अधिकारीले आफूलाई पनि वक्ताको प्यानल असमावेशी लागेको र यसलाई सुधार गर्न आग्रहसहित थप गर्न सकिने केही नामहरु दूतावासलाई सुझाव पठाएको बताएका थिए ।  

आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल फर्किन लागेका राजदूत डा दुर्गाबहादुर सुवेदीले कोरोना महामारीकै बीच पनि विभिन्न शीर्षकमा कार्यक्रमहरु निरन्तर गर्दै आएका छन् 

नेपाली संगीत महोत्सव भनेर आफैले लेखेका केही गीतहरु विमोचन गराएका उनले चलचित्र महोत्सव भन्दै केही चलचित्रकर्मीलाई सम्मान पनि गरेका थिए । जुन कार्यक्रममा बेलायत सरकारले जारी गरेको नियमविपरित जमघट गरेको र सामाजिक दूरीसम्म कायम नगरेको भन्दै दूतावासको आलोचना भएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू