शुक्रबार, वैशाख १४, २०८१
16:50 | २१:३५

लकडाउनका कारण ‘साइकल राइड फर च्यारिटी’ डिसेम्बरमा सारियो

डिसेम्बर २७ तारिखको लागि तय गरियो

नेपाली लिङ्क नोभेम्बर ३, २०२०

लण्डन । हेल्प नेपाल नेटवर्कद्वारा नेपालको धुलिखेल, काभ्रेमा संचालन भैरहेको बालगृहका बालबालिकाको सहयोगार्थ आयोजना गर्न लागेको ‘साइकल राइड फर च्यारिटी’  लकडाउनका कारण निर्धारित समयमा नहुने भएको छ ।

नोभेम्बर ७ तारिख गर्ने निश्चित भएको उक्त कार्यक्रम बेलायत सरकारले यही बिहीबारदेखि इंगल्याण्डमा लकडाउन घोषणा गरेका कारण डिसेम्बर २७ तारिखमा सारिएको गैर आवासीय नेपाली संघ यूकेको इंग्ल्यान्ड राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठले जनाए।

परिषदको संयोजनमा उक्त च्यारिटी राइड गर्न लागिएको हो । उक्त कार्यक्रममा साइकल यात्रीहरुले दक्षिण पूर्वी लन्डनको उलवीचबाट समुद्री तट ब्राइटनसम्म यात्रा गर्ने छन् ।

एकतर्फी ६९ माईल दूरी रहेको सो साईकल यात्रा लगभग ६ घण्टा समय लाग्नेछ । यात्राको क्रममा हेल्थ एण्ड सेफ्टी, मेन्टिनेन्स लगायत कुराको जिम्मेवारी कार्यक्रम संयोजन गरेका वुल्वीच आर्सनल राइडर्स क्लब तथा सदस्यहरू,  हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधान, कोषाध्यक्ष सचिन श्रेष्ठ, गैर आवासीय नेपाली संघ यूकेका महासचिव फडिन्द्र भट्टराई, खेलकूद संयोजक ह्यारी गुरुङ, क्याट यूकेका अध्यक्ष जीवन सेन, नेपाली युथ एसोसिएशन यूकेका अध्यक्ष लक्षुमन गुरुङ तथा सुरज गुरुङ र अमिर श्रेष्ठले लिएका छन् ।

कार्यक्रमको सहयोगीको रूपमा गैर आवासीय नेपाली संघ यूके, हेल्प नेपाल नेटवर्क यूके र नेपाली युथ एसोसिएशन यूके छन्। धुलिखेलमा निर्मित बालगृहका विद्यार्थीहरूका लागी  “खाना पुगोस्, तातो लगाउन पुगोस्” भन्ने हेतुले यो कार्यक्रम गरिएको हो ।

संकलित रकमको केहि अंश बुद्ध फाउण्डेसन यूकेद्वारा निर्माणाधीन अवस्थामा रहेको बृद्ध आश्रमलाई सहयोग गरिनेछ । यस पवित्र कार्यको लागि यथासक्दो आर्थिक सहयोग गर्न तथा साईकल यात्रीहरूलाई शुभकामना दिन अध्यक्ष श्रेष्ठ तथा सचिव गोविन्द खरेलले आग्रह गरेका छन्।

साइकल राइड फर च्यारिटी सहयोगका लागि इंग्ल्यान्ड राज्य समन्वय परिषदको खेलकुद विभागका संयोजक तथा सह-कोषाध्यक्ष चन्दन गुरुङले पनि सबैलाई अनुरोध गरेका छन् । सहयोग गर्न चाहनेले यहाँ क्लिक गर्नुहोला

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू