शुक्रबार, चैत १६, २०८०
13:02 | १८:४७

इंग्ल्याण्डमा थपियो छ महिना ‘मोर्गेज होलिडे’, हजारौं नेपाली पनि लाभान्वित

दोस्रो लकडाउन घोषणापछि आर्थिक राहतस्वरूप नयाँ प्याकेज

नेपाली लिङ्क नोभेम्बर १, २०२०

लन्डन । कोरोना महामारीका कारण सरकारले घरधनीहरुलाई सहुलियतस्वरूप दिएको ‘मोर्गेज होलिडे’ को म्याद पुनः ६ महिना थप गरेको छ । यसअघि लागू गरिएको यो नियम शनिबार अर्थात अक्टुबरभर निर्धारित गरिएको थियो ।

कोरोना संक्रमणका कारण रोजगार तथा व्यवसायबाट संकट परेकाहरुलाई सरकारले यसअघि हरेक महिना बैंक तथा बिल्डिङ सोसाइटीलाई भुक्तानी गर्नुपर्ने मोर्गेज रकम ‘मोर्गेज होलिडे’ को रुपमा छुट दिंदै आएको थियो । पहिला नै ‘मोर्गेज होलिडे’ स्किममा सहभागी भएकाहरुका लागि यो स्किम स्वतः ६ महिना थप गरिनेछ ।

तर, यसभन्दा अघि यो स्किममा सहभागी नहुनेहरुले भने बैंक तथा बिल्डिङ सोसाइटीसंग अनुरोध गरेर कम्तिमा ६ महिनाका लागि ‘मोर्गेज होलिडे’ लिन सक्नेछन् । शनिबार साँझ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा दोस्रो चरणको नयाँ लकडाउन घोषणा गरेपछि आर्थिक राहतस्वरूप यो नयाँ प्याकेज ल्याइएको हो ।

यसैगरी कोरोना भाइरसको नयाँ प्रतिवन्धात्मक नियम अनुसार बन्द गर्न वाध्य व्यवसायहरुले प्रत्येक महिना तीन हजारसम्मको ‘ग्रान्ट’ प्राप्त गर्न सक्नेछन् ।

जोसेफ रौन्ट्री फाउन्डेशनद्वारा गरिएको अध्ययनमा ६ महिना ‘मोर्गेज होलिडे’ पूरा गरिसकेका १६ लाख भन्दा बढी अर्थात हरेक पाँचजनामध्ये एकजना घरधनी अघिल्लो तीन महिनाको मोर्गेज भुक्तानीबारे चिन्तित रहेको बताइएको थियो ।

सरकारद्वारा उपलब्ध गराइएको ‘मोर्गेज होलिडे’ सम्बन्धि स्किमले व्यक्तिगत ‘क्रेडिट फाइल’ मा कुनै असर नपर्ने बताइएको छ । उक्त स्किममा सहभागी हुनेहरुको ‘क्रेडिट स्कोर’ र भविष्यमा गरिने आर्थिक कारोबारमा समेत समस्या पर्ने भन्ने चिन्ता अध्ययनका सहभागीले बीबीसीसंग व्यक्त गरेका थिए ।

‘मोर्गेज होलिडे’ सम्बन्धि सरकारको विस्तृत धारणा भोलि सोमबार प्रस्तुत गर्ने अधिकारीहरुले बताएका छन् ।

सरकारद्वारा घोषणा गरिएको ‘मोर्गेज होलिडे’ स्किमबाट थुप्रै नेपाली घरधनी तथा व्यवसायी लाभान्वित हुने अनुमान छ । लन्डन हेजस्थित मोर्गेज म्याटर्सका डाइरेक्टर एवं मोर्गेज एड्भाइजर ऋषि खनाल महामारीका बेला सरकारको यो घोषणाले धेरै ठूलो राहत मिल्ने बताउंछन् । ‘अहिले धेरैले जागिर गुमाएका छन् र हुनेको पनि थोरै काम भएको अवस्थामा सरकारी राहतले मोरल बुस्टिङ हुने रहेछ’, अघिल्लोपटकको प्याकेजले धेरै जना लाभान्वित भएको बताउंदै खनालले भने, ‘मोर्गेजमा जोडिने भएपनि तत्काल ६ महिनाको ब्याज तिर्नु नपर्दा घरधनीलाई सांच्चिकै राहत मिल्छ ।’

हालसम्म करिब २५ लाख जनाले यो स्किम लिएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू