बिहीबार, वैशाख १३, २०८१
16:05 | २०:५०

बेलायतमा थप २४ हजार ७०१ संक्रमित, ३१० को मृत्यु

अघिल्लो हप्ताको तुलनामा मृतक संख्या ६२ प्रतिशत वृद्धि

नेपाली लिङ्क अक्टोबर २८, २०२०

फाइल फोटो

लन्डन । बेलायतमा  बुधबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार आज थप  २४ हजार ७०१ नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

अघिल्लो दिनको तुलनामा संक्रमित हुनेको संख्या झन्डै दुई हजारले बढी छ । यससँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ४२ हजार २७५ पुगेको छ । अघिल्लो हप्ताको तुलनामा मृतक संख्या ६२ प्रतिशतले वृद्धि भएको अधिकारीहरुले बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ३१० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु छन् । हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ६७५ पुगेको छ । सरकारी तथ्याँक अनुसार झन्डै एक तिहाई मृतक ७५ वर्ष भन्दा माथिका छन् । तर, पछिल्लो समयमा भने अधिक मृत्यु हुनेमा ९० वर्ष माथिका रहेका छन् ।

कोरोना संक्रमण बढेसंगै अस्पताल भर्ना हुनेको संख्या पनि दैनिक बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा एक हजार २२७ जना कोरोना  संक्रमित अस्पताल भर्ना भएका छन् । हाल ९०२ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ भने ९ हजार १५२० जना कोरोना संक्रमितको अस्पतालमा उपचार भइरहेको  मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू