बुधबार, वैशाख ५, २०८१
23:53 | ०४:३८

बेलायतलाई खेती गर्न कामदार आवश्यक

कामदार पूर्तिका लागि आवश्यक पहल गर्न सरकारसंग आग्रह

नेपाली लिङ्क अक्टोबर २८, २०२०

फाइल फोटो

लन्डन । बेलायत सरकारले घरेलु कामदारहरु आकर्षित गर्ने अभियान ल्याए पनि अर्को वर्ष यहांका कृषकलाई हजारौं विदेशी कामदार आवश्यक पर्ने बताइएको छ । बेलायतमा  ११ प्रतिशत मात्र कामदार बेलायतवासी रहेको राष्ट्रिय किसान युनियन (एनएफयू) ले बीबीसीलाई जनाएको छ ।

युरोपियन युनियनसंग बेलायतको बहिर्गमनको संक्रमणकाल सकिएपछि अर्को वर्षका लागि कृषिमा काम गर्ने कामदार पूर्तिका लागि आवश्यक पहल गर्न युनियनले सरकारसंग आग्रह गरेको छ । यसवर्ष कोरोनाको संक्रमण र ब्रेक्जिट जस्ता दुईवटा महत्वपूर्ण समस्याले गर्दा स्थानीय कामदारमा मात्र सिमित रहनु परेको र तिनीहरुले पनि सिजन शुरु हुनु अगावै युनिभर्सिटीको तयारीका लागि छाडेर जाने गरेको कृषकहरुको गुनासो छ ।

ब्रिटिस कामदारलाई नै आफूहरुले प्रथामिकता दिएको र प्रशिक्षणका लागि लगानी गर्दा पनि उनीहरु कामका लागि आवेदन दिन नआएको कृषकहरुको गुनासो छ । न्यूनतम ज्याला भन्दा बढी नै भुक्तानी गरिने भएपनि कामदारलाई कसरी आकर्षण गर्ने उनीहरु द्विविधामा छन् ।

बेलायतको एक प्रमुख रिक्रुट कम्पनी ‘हप्स लेवर सोलुसन’ का अनुसार करिब ३० हजार ब्रिटिश आवेदकमध्ये ४ प्रतिशतमात्र काममा आएको र एक प्रतिशत मात्र ६ हप्तासम्म रहने गरेको बताएको छ । जमिनमा काम गर्न निकै परिश्रम गर्नुपर्ने भएकाले घरेलु कामदारहरु कम आकर्षित हुने गरेको होप्स लेवर सोलुसनका हार्डम्यानले बताए ।

उनले भने, ‘इमान्दारीपूर्वक भन्नुपर्दा घरेलु कामदार भन्दा इयूका नागरिकहरु बढी उत्पादनशील हुन्छन् । सरकारले यस विषयमा गम्भीरतापूर्वक विचार नगरे बेलायतका कृषकले निकै ठूलो सास्ती खेप्नुपर्ने छ ।’

विगत हेर्ने हो भने घरेलु कामदारबाट मात्र बेलायतको कृषि क्षेत्र धान्न सम्भव नहुने कृषि क्षेत्रमा संलग्न रहेकाहरुको धारणा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू