बिहीबार, वैशाख १३, २०८१
06:15 | ११:००

लन्डन दूतावासका कर्मचारीमै सिमित रहयो दशैं

'रुल अफ सिक्स' का कारण यसपालिको दशैंमा देखिएन चहलपहल

नेपाली लिङ्क अक्टोबर २६, २०२०

लन्डन । नेपालीहरुको महान पर्व बडादशैंको प्रमुख दिन विजयादशमी आज मान्यजनबाट टीकाजमरा तथा आशिर्वाद ग्रहण गरी सम्पन्न भएको छ । विश्वभर फैलिएको कोरोना संक्रमणका कारण यसपटकको दशैंको टीका घर घरमा मात्र सिमित रहन पुग्यो । लन्डनस्थित नेपाली राजदूतावासमा पनि दूतावास परिवारमै सिमित रह्यो यसपालाको दशैं ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले पाचौं दशैँ भन्दै ट्वीटरमार्फत दशैंका केहि तस्विर सार्वजनिक गरेका छन् । नेपाली दूतावास लन्डनले प्रत्येक वर्ष दशैंको अवसर पारेर ‘विजयादशमी, दीपावली, म्हपूजा, नेपालसम्बत, छठ, जितिया, उधौली, ल्होसार र माघी’ लगायत नेपालका महान सांस्कृतिक पर्वहरुका शुभ अवसरमा शुभकामना आदान प्रदान गर्दै आएको थियो ।

सैयौंको संख्यामा बेलायतवासी नेपालीहरुले खचाखच भरिने दूतावास भवन योपटक भने कर्मचारीबीचमै सिमित रह्यो । सन् २०१६ मा बेलायत आएका राजदूत डा दुर्गाबहादुर सुवेदीले सोहि समयमा आयोजना गरेको पहिलो दशैं कार्यक्रममा शुभकामना आदान-प्रदानका साथै नवनियुक्त राजदूत दम्पतिसंग भेटघाट गरिएको थियो ।

बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर आउने सङ्केत देखिएपछि संक्रमण नियन्त्रण गर्न लकडाउन सम्बन्धि कडा नीति अपनाइएको छ । ‘रुल अफ सिक्स’ लगायत एक घरका मानिसले अर्को घरमा गएर भेटघाट गर्न समेत प्रतिबन्ध लगाइएका कारण यसपालिको दशैंमा खासै चहलपहल देखिएन ।

कोरोना महामारीका कारणले गर्दा नै यसपटक  बेलायतवासी नेपालीहरु दूतावासद्वारा आयोजित दशैं कार्यक्रमबाट बन्चित हुन पुगेका छन् । दूतावासले पछिल्लो समयमा छिटपुटबाहेक कुनै पनि औपचारिक कार्यक्रमहरु गरेको छैन् ।

विगत चार वर्षदेखि  सैयौंको संख्यामा बेलायतवासी नेपाली तथा विदेशीमाँझ दशैको शुभकामना आदानप्रदान गर्दै आएका राजदूत सुवेदीले आफ्नै दूतावास परिवारमा मात्र दशैं मनाएका छन् । राजदूत सुवेदी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर नेपाल फर्कने तयारीमा छन् ।

विगत दशैं कार्यक्रमका झलक:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू