बिहीबार, वैशाख १३, २०८१
01:54 | ०६:३९

बेलायती महिलाले दौडेर गरिन् नेपाललाई सहयोग

२१ किलोमिटर ‘मार्लो हाफ म्याराथन’ पुरा गरेर तीन हजार पाउण्ड संकलन

नेपाली लिङ्क अक्टोबर २६, २०२०

लन्डन । बेलायती महिला ब्लान्च मोरिसीले ‘सपोर्ट नेपाल’ को सहयोगार्थ २१ किलोमिटर ‘मार्लो हाफ म्याराथन’ पुरा गरेर तीन हजार पाउण्ड बढी रकम संकलन गर्न सफल भएकी छन् । संस्थाकी ट्रष्टी समेत रहेकी मोरिसीले दौडले आफूलाई हौसला मिलेको बताएकी छन् । सो म्याराथनका लागि अमेरिकाको डल्लास टेक्सस, नेदरल्याण्ड, इटाली, स्पेनलगायतका विदेशी मुलुकबाट समेत सहयोग प्राप्त भएको थियो ।

साथै बेलायतस्थित संस्थाहरु सहारा यूके, तमु समाज यूके लगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरुले समेत सहयोग गरेको सपोर्ट नेपालका संस्थापक अध्यक्ष नवीन गुरुङले बताए । सहारा यूकेका संस्थापक अध्यक्ष समेत रहेका गुरुङले नेपालस्थित स्याङ्जा जिल्लाका दुर्गम स्थानहरुमा शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभिन्न क्षेत्रमा सहयोग पुरयाउदै आएका छन् ।

निकट भविष्यमा सोही क्षेत्र अन्तरगत दुर्गम स्थानहरुमा आधुनिक र सुविधासम्पन्न बास्केटबल कोर्ट निर्माण गर्ने, खेलकुद सुविधाहरू प्रदान गर्ने, पुस्तकालय, पाठ्यसामग्री, स्वास्थ्य सम्बन्धि क्लब लगायत विद्यार्थी एवं शिक्षकबीच आदानप्रदान कार्यकम गरिने गुरुङले बताए । हाल डाँडास्वारामा ५० हजार पाउण्डको खर्चमा वेलफेयर सेन्टर निर्माण भइरहेको छ ।

यसैगरी हाल निर्माण भइरहेको विद्यालयका लागि सपोर्ट नेपालको पहलमा करिब ४० हजार पाउण्ड खर्च भइसकेको गुरुङले नेपाली लिंकलाई बताए । यस्ता खालका परियोजनाहरुले सामूदायिक पर्यटनका साथै गाउँमा अर्गानिक फार्मिङमा समेत सहयोग पुरयाउने गुरुङको विश्वास छ । संस्थाका सल्लाहकार रहेका बिनोद बरालसंगको सहकार्यमा सपोर्ट नेपालको माध्यमबाट अन्तरराष्ट्रिय स्तरमा नेपाली खानालाई प्रवर्धन गर्न समेत संस्था लागिरहेको गुरुङले बताए ।

सपोर्ट नेपालमा गुरुङ संस्थापक अध्यक्ष रहे पनि बाँकी सदस्य र ट्रष्टीहरु भने सबै ब्रिटिस नागरिकमात्र आवद्ध छन् । हाफ म्याराथन दौडेकी मोरिसी ट्रष्टी, पोली स्कट (ट्रष्टी-अध्यक्ष), माइकल एडमसन ट्रष्टी, जिम कास्पर (ट्रष्टी-महासचिव), मेरी होवेट र सारा हर्ड ट्रष्टी एवं क्रिश ह्विली सदस्य छन् । त्यसैगरि, सल्लाहकारमा हालै बेलायतमा ‘एमवीई’ अवार्डवाट सम्मानित सहारा यूकेका पूर्व अध्यक्ष दिलिप गुरुङ र सेफ विनोद बराल तथा विष्णु खरेल, मञ्जु गुरुङ र जगन कार्की सदस्य छन् ।

बेलायतका विभिन्न स्कूल र विश्वविद्यालयका ब्रिटिश विज्ञ र विद्यार्थीलाई भविष्यमा नेपाल पठाउन  सहयोग गर्न प्रोत्साहन स्वरूप गुरुङले विभिन्न ‘टक सो’ गर्दै आएका छन् । मार्लो र कुकहाममब्रिज जस्ता रोटरी संस्थाहरुले सपोर्ट नेपालसंग सहकार्य गर्न चासो देखाइसकेका छन् । विगत लामो समयदेखि बेलायतमा बसोवास गर्दै आएका गुरुङ बेलायतमा अन्य विभिन्न सामाजिक कार्यमा आवद्ध रहँदै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू