शनिबार, वैशाख १५, २०८१
05:59 | १०:४४

आज विजयादशमी, मान्यजनबाट टीका र जमरा लगाईंदै

नेपालमा १०:३५ र बेलायतमा ७:४५ मा उत्तम साइत

नेपाली लिङ्क अक्टोबर २६, २०२०

लन्डन  । आज विजयादशमी अर्थात नवरात्रीको दशौं दिन, बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन ।  मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । यसरी टिका लगाउँदा मान्यजन तथा आफू भन्दा ठूलाबडाबाट आशिर्वाद लिने प्रचलन छ  ।

“आयु द्रोण सुते, श्रीयंच दशरथे, सत्रु क्षयम् राघवे, ऐश्वोर्यं नहुषे, गतिस्च पवने, मानंम् च दुर्योधने, दानम् सुर्य सुते, बलम् हलधरे, सत्यम् च कुन्ती सुते, बिज्ञाने बिदुरे भवति भवताम् किर्तिस्च नारायणे ।” 

अर्थात,  द्रोणका छोरा अस्वत्थामाको जस्तो आयु, दशरथको जस्तो कीर्ति, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता, नहुस राजाको जस्तो ऐस्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, सूर्यका छोराजस्ता दानी, भीम जस्तो बल, युधिष्ठिर जस्तो सत्यवान्, विदुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति र सम्मान होस् भन्ने हो ।

नेपालमा यस वर्षको दशैंको टिकाको साइत सोमबार बिहान १० बजेर ३५ मिनेटका लागि उत्तम भएको पञ्चाङग निर्णायक समितिले बताएको छ । बेलायतमा दशैं टीकाको साइत सोमबार बिहान ७ बजेर ४५ मिनेटको समयमा परेको छ ।

लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका मूलपण्डित ज्योतिषी निलहरि घिमिरेका अनुसार उक्त समयमा टीका लगाउने व्यक्ति पश्चिम र टीका लगाइदिने व्यक्ति पूर्व फर्किनु उत्तम रहनेछ । शुभ साइतको समयमा शुरु गरिसकेपछि बांकी दिनभर नै टीकाका लागि समय शुभ रहने ज्योतिषी घिमिरेको भनाइ छ ।

विश्वभर फैलिएको महामारीका कारण विशेष सतर्कता अपनाउनुपर्ने  भएकोले यसपटकको दशैं विगतभन्दा निकै फरक हुनेछ । स्वस्थ र सुरक्षित रहनु नै यसपटकको दशैंको मुख्य उद्देश्य छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू