शुक्रबार, चैत १६, २०८०
11:24 | १७:०९

इंग्ल्याण्डमा १३० मध्ये एकजना संक्रमित, थप २२४ ले ज्यान गुमाए

शुक्रबार २० हजार ५३० नयाँ संक्रमित थपिए

नेपाली लिङ्क अक्टोबर २३, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा २० हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्याँक अनुसार थप २० हजार ५३० जनामा नयाँ कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ८ लाख ३० हजार ९९८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २२४ जना संक्रमितको मृत्यु भएको सररकारी तथ्याँकले देखाएको छ । शुक्रबार सार्वजनिक तथ्याँकको आधारमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ हजार ५७१ पुगेको छ । तर, राष्ट्रिय तथ्याँक विभागले जारी गरेको तथ्याँक भने सरकारीभन्दा १४ हजार भन्दा बढी छ ।

बेलायतमा कोरोना संक्रमण निरन्तर बढ्दै गएको राष्ट्रिय तथ्याँक विभागले जनाएको छ । विभागले इंग्ल्याण्डमा प्रत्येक १३० मध्ये एक जनामा कोरोना संक्रमण रहेको बताएको छ ।

यसैगरी वेल्समा १८० मध्ये एक जना र नर्दर्न आएरल्याण्डमा एक सयमध्ये एक जनामा कोरोना संक्रमण रहेको विभागले सार्वजनिक गरेको छ । हाल नर्थ वेष्ट र नर्थ इष्ट इंग्ल्याण्डका भागहरुमा कोरोना संक्रमण सबैभन्दा बढी छ ।

हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको संख्या ७ हजार ७०६ छ भने ७२९ जनालाई भेन्टिलेटर बेडमा राखेर उपचार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण गएको २४ घन्टामा थप एकहजार ५६  जना अस्पताल भर्ना भएका थिए । हालसम्म एक लाख ५८ हजार ३३५ जना अस्पताल भर्ना भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू