बिहीबार, चैत १५, २०८०
16:56 | २२:४१

भ्याक्सिनले पनि उन्मुलन गर्नेछैन कोभिड

नेपाली लिङ्क अक्टोबर २२, २०२०

लन्डन । बेलायत सरकारका एक प्रमुख सल्लाहकारले हाल परिक्षणका क्रममा रहेका कोरोनाविरुद्धका भ्याक्सिनले कोरोनाको पूर्ण रुपमा उन्मुलन गर्न नसक्ने धारणा व्यक्त गरेका छन् ।  

बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार प्याट्रिक भालेन्सले यी भ्याक्सिनहरुले शरीरमा कोरोनाविरुद्धको एन्टीबडी निर्माण गरेपनि उन्मुलन नै गर्न सक्छन् भन्नेबारे अहिल्यै स्पष्ट नभएको बताए ।  

सोमबार लन्डनमा बसेको नेशनल स्ट्रयाटिजी कमिटीको बैठकमा उनले यो रोग आफै सामान्य हुँदै जाने बताए । कोभिड हरेक वर्ष आउने सामान्य फ्लु भाइरस जस्तै हुनसक्ने तर खोपले यसको पूर्ण रुपमा उन्मुलन हुन नसक्ने सम्भावना सल्लाहकार भालेन्सले आँकलन गरेका छन् ।  

‘धेरै भ्याक्सिनहरुले ‘इम्युन रेस्पोन्स’ वा ‘एन्टिबडी रेस्पोन्स’ सिर्जना गर्ने काम मात्र गर्दछन । तर ती भ्याक्सिनले साँच्चै मानिसलाई संक्रमित हुनबाट जोगाउँछन् वा जोगाउँदैनन् भन्ने विषय तेस्रो चरणको परीक्षणबाट मात्रै पत्ता लाग्छ’,  उनले भने 

हालसम्म खोपका कारण सन् १९८० को दशकमा एउटै मात्र  रोग स्मलपक्सको उन्मुलन भएको भन्दै उनले हाल तयार हुन लागेका कोरोना विरुद्धको खोपप्रति आशंका व्यक्त गरेका छन् 

हतार गरेर भ्याक्सिन निकाल्दा प्रभावकारी नहुने भन्दै उनले भने,’ विगतमा भ्याक्सिन निर्माणमा १० वर्ष लागेको थियो । ५ वर्षभन्दा कम समयमा कहिल्यै भ्याक्सिन बनेको छैन’ ।  

महामारी शुरु भएको झन्डै एक वर्ष पुग्न लागेको छ ।  हालसम्म विश्वभर कुल संक्रमितको संख्या ४ करोड नाघेको छ । त्यस्तै भाइरसले विश्वभर ११ लाखभन्दा धेरैको ज्यान लिइसकेको छ ।

अहिले मुख्य रुपमा विश्वभर आठवटा भ्याक्सिनको परीक्षण भइरहेका छन् । सन् २०२१ को मार्च भन्दा यता कुनै भ्याक्सिन समुदायमा नपुग्ने सल्लाहकार भ्यालेन्सको भनाइ छ 

अहिले बेलायतमा कोरोना संक्रमणको  दोस्रो लहर शुरु भएको छ । कोरोना संक्रमण र मृत्युसँगै दैनिक अस्पताल भर्ना हुनेको संख्या पनि दिनहुँ बढ्दै गएको छ ।

बेलायतमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार २२९ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ४४ हजार १५८ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू