बिहीबार, चैत १५, २०८०
13:12 | १८:५७

नेपालका बाढीपीडितलाई सहयोग जुटाउन यूकेमा २ सय किमी दौडिए किरण

५ हजार पाउन्ड सहयोग संकलनको लक्ष्य

नेपाली लिङ्क अक्टोबर २०, २०२०

लन्डन । नेपालका बाढीपहिरो पीडितको सहयोगका लागि कोष जुटाउने अभियानस्वरुप एक युवाले बेलायतमा २ सय किमी दूरी दौडिएका छन् ।

बेलायतको ग्लस्टसायरमा बस्दै आएका ३३ वर्षीय म्याराथन धावक किरण मगरले गत शनिबार आफ्नो च्यारिटी दौड पूरा गरेका हुन् ।  केही साताअघि आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति  व्यहोरेको बाग्लुङको ढोरपाटन नगरपालिकाका बासिन्दाको सहयोगार्थ उनी दौडिएका हुन् ।

च्यारिटी दौडबाट हालसम्म १७ सय पाउन्ड बढी उठाइसकेका उनले ५ हजार पाउन्डसम्म सहयोग जुटाउने लक्ष्य लिएका छन् ।  

ढोरपाटन नगरपालिकाको ५, ६, ७, ८ र ९ वडाका बाढीपहिरो  पीडितलाई सहयोग गर्ने उनको योजना छ ।  

लन्डनको ओटु एरेनाबाट अक्सफोर्डसम्मको २ सय किमी दूरी लगातार दौडिएर २५ घण्टा २० मिनेटमा पूरा गरेको किरणले नेपाली लिंकलाई बताए । 

२ सय किमीको दूरी किरणले शनिबार मध्यरात पूरा गरेका थिए ।

किरणको च्यारिटी दौडमा साथ दिँदै विकास थापा, कुमार थापा, शिशिर थापा, मिलन रोका, समुन्द्र शेरचन, सम्राट लिम्बू, कर्मा गुरुङ लगायतका युवाले पनि आंशिक दूरी दौडिएका थिए । च्यारिटी दौडको व्यवस्थापनमा रेश्मा राना, मिलन रोका, तुलसी बुढा र प्रदिप रोकाले किरणलाई सघाएका थिए ।  

च्यारिटीका लागि यसअघि बेलायतमा कयौं म्याराथन दौडिएका किरण अल्ट्रा म्याराथन धावक हुन् । उनले सन् २०१५ मा नेपालको महाभूकम्पपछि बेलायतमै लिन्टन केइन्ज् म्याराथन दौडिएर सहयोग पठाएका थिए । त्यस्तै, ब्रेकनमा साउथ वेष्ट ५० माइल अल्ट्रा म्याराथन,२०१९ स्नोडाउन १ सय माइललगायत उनले पूरा गरेका थिए ।  

च्यारिटी दौडको लागि आफ्नो लक्ष्यअनुसारको दूरी पूरा गरी केही कोष समेत जुटाउन सफल भएकोमा आफू गौरवान्वित भएको किरणले नेपाली लिंकलाई सुनाए । 

यो अभियानमा ५ हजार पाउन्डको कोष संकलनको लक्ष्य राखिएको भन्दै उनले सहयोगका लागि सबैमा अपील गरेका छन् । बाढीपहिरो पीडितको सहयोगार्थ किरणले शुरु गरेको अभियानमा तलको लिंक क्लिक गरी सहयोग गर्न सकिन्छ ।  

https://www.justgiving.com/crowdfunding/kiranmagar?utm_term=bNgwPm79r

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू