शुक्रबार, चैत १६, २०८०
00:26 | ०६:११

अल्डरसटमा कञ्जरभेटिभ पार्टीबाट काउन्सिलर उम्मेदवार चुनिए बेल्वासे

रश्मोरको वेलिङटन वडामा बेल्वासे उम्मेदवार बन्ने

नेपाली लिङ्क अक्टोबर १९, २०२०

लण्डन । बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटको काउन्सिलरका लागि स्थानीय नेपाली समुदायका अभियन्ता जीव बेल्वासे कञ्जरभेटिभ पार्टीको उम्मेदवार चयन भएका छन् ।

आउँदो वर्ष हुने निर्वाचनको लागि रश्मोर बरो काउन्सिलको वेलिङटन वडामा बेल्वासे उम्मेदवार बन्ने भएका हुन् । उक्त वडामा अहिले पनि कञ्जरभेटिभ पार्टीबाट निर्वाचित नेपाली समुदायकै प्रवेश केसी काउन्सिलर छन् ।

उम्मेदवार छनोटका लागि पार्टीको आन्तरिक प्रक्रियाबाट आफूलाई चयन गरिएको बेल्वासेले नेपाली लिंकलाई बताए । पार्टीले काउन्सिलर पदमा उम्मेवार बन्न ईच्छुक पात्रहरुबाट प्राप्त आवेदनहरुमाथि अध्ययन गरी सम्बन्धित व्यक्तिहरुसंगको अन्तरवार्तापछि उनलाई उम्मेदवार चुनेको हो।

आन्तरिक रुपमा उम्मेदवार चयनको प्रक्रिया समाप्त भइसकेपनि यस विषयमा पार्टीको औपचारिक घोषणा भने हुन अझै बाँकी रहेको उनले बताए ।

कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार चुनिएपछि आउँदो वर्ष मे महिनामा हुने निर्वाचनमा बेल्वासेले प्रतिस्पर्धा गर्नेछन् । बेलायतमै सबैभन्दा बढी नेपालीको बसोबास रहेको रश्मोर बरोको वेलिङटन वडामा समेत नेपालीहरुको संख्या उल्लेख्य छ ।

विगतमा लेबर पार्टीको पकड रहेको उक्त वडामा गत निर्वाचनमा भने कञ्जरभेटिभ पार्टीबाटै प्रवेश केसी विजयी भएका थिए ।

काउन्सिलरको उम्मेदवारमा चयन भएका बेल्वासेले लामो समयदेखि रश्मोर क्षेत्रमा स्थानीय नेपाली र बेलायती समुदायसंग नजिक रहेर काम गर्दै आएका छन् । ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष उनी एनआरएनए यूकेका पूर्व प्रवक्ता पनि हुन् ।

बेल्वासेले स्थानीय समुदायमा पुर्याएको योगदानको कदरस्वरुप उनले बीबीसी कम्युनिटी हिरो अवार्ड, ह्याम्पशायर हाई सेरिफ अवार्ड जस्ता प्रतिष्ठित सम्मान पनि प्राप्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू