शुक्रबार, वैशाख ७, २०८१
00:21 | ०५:०६

नेपाली एकाउण्टेन्टहरुले रेस्टुरेन्ट ब्यवसायीहरुसंग गरे अन्तर्क्रिया

नेपाली लिङ्क अक्टोबर १५, २०२०


लन्डन –बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायतमा ब्यापार व्यवसाय गरिरहेका रेस्टुरेन्ट तथा क्याटरिङ ब्यवसायीहरुसंग जूममार्फत अन्तरक्रिया गरेको छ ।

ब्रिटिश अर्थमन्त्री ऋषि सुनकले सार्वजनिक गरेको जाडो यामका लागि आर्थिक योजनाका मुख्य बुंदाहरु र त्यसबाट कसरी लाभान्वित हुने भन्नेबारे छलफल केन्द्रित थियो ।

कार्यक्रममा वरिष्ठ एकाउण्टेन्टद्वय एलएन पाण्डे र समिरनाथ प्याकुरेलले  कार्यपत्र प्रश्तुत गरेका थिए । छलफलमा जाडो यामका लागि आर्थिक योजना अन्तर्गत जब सपोर्ट स्किम, भिएटी रिड्युसड रेट, भिएटी डिफरल पेमेन्ट, स्वरोजगारमा रहेकाहरुका लागि ‘टाइम टु पे अरेन्जमेन्ट’ तथा ‘बाउन्स व्याक लोन’ जस्ता विषयमा जानकारी गराइएको थियो ।

वरिष्ठ एकाउण्टेन्ट्सहरु सुरेन्द्र ढुंगाना, प्रकाश  ढुंगाना, पदम आचार्य,  कृष्ण भट्टराईलगायतले दर्शक, श्रोताहरुका जिज्ञासाको जवाफ दिएका थिए ।

“हामीले गत जुन र अगस्ट महिनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न गरिएको लकडाउनबाट नेपाली ब्यवसायीहरूलाई परेको असर र बेलायत सरकारले घोषणा गरेका राहत प्याकेजबारे नेपाली व्यवसायीहरुलाई जानकारी गराउन वेबिनारहरु आयोजना गरेका थियौं । अहिले कोरोनाबाट सबैभन्दा बढी प्रभावित आतिथ्य व्यवसायीहरुको आग्रह बमोजिम यो कार्यक्रम आयोजना गरेका हौँ,”  नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेका अध्यक्ष सरोज सापकोटाले भने ।

“कोभिड-१९ संक्रमण लगत्तै ब्रिटिश सरकारले यहांका व्यवसायीहरुको हितका लागि थुप्रै योजनाहरु सार्वजनिक गरयो । तर बेलायतस्थित नेपाली व्यवसायीहरुले तिनका बारेमा जानकारी प्राप्त गर्न नसकेको र कतिपय विषयमा स्पष्ट पार्न अनुरोध आएकोले संस्थागतरुपमा हामीले यस्तो पहल गरेका हौँ,”  नेप्लिज  एकाउण्टेन्ट्स एसोसियसन युकेका महासचिव शशिधर नेपालले भने । यो संस्थाको मुख्य उद्देश्यहरुमा संस्थाका सदस्यहरुको हितमा काम गर्ने र बेलायतस्थित नेपाली समुदायको हितमा काम गर्ने भएकाले नेपाली सेफ र रेस्टुरेन्ट व्यवसायीहरु लाभान्वित हुने हिसाबले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा नेप्लिज क्याटरर्स एशोसियसन युकेका अध्यक्ष विजय थापाले कार्यक्रमले ब्यवसायीहरु अत्यन्तै लाभान्वित भएको बताए । त्यस्तै नेप्लिज  सेफ एशोसियसन युकेका अध्यक्ष दधि आचार्यले नेपाली भाषामा नै यसरी ट्याक्स तथा नियमहरुबारे गराइएको जानकारीले सेफ तथा रेस्टुरेन्ट ब्यवसायीहरुलाई फाइदा पुगेको भन्दै कार्यक्रमको प्रशंसा गरे ।

लामो समयदेखि क्याटरिंग ब्यवसायमा संलग्न ध्रुव केसीले आफ्नो चालिस वर्ष लामो बेलायत बसाइमा रेस्टुरेन्ट व्यवसायीहरुलाई आफ्नै नेपाली समुदायका सदस्यहरुले यसरी आफ्नै भाषामा कहिल्यै पनि अन्तरक्रिया गर्न नपाएको बताए । उनले यस्तो संक्रमणको बेलामा पनि समुदायको हितलाई ध्यानमा राखेर अन्तरक्रिया आयोजना गरेकोमा धन्यवाद दिंदै भविष्यमा पनि यस्तो कार्यक्रम गर्न अनुरोध गरे ।

कार्यक्रम संचालन महासचिव शशिधर नेपालले गरेका थिए भने संस्थाका उपाध्यक्ष वरिष्ठ एकाउण्टेन्ट राजेन्द्र सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू