शुक्रबार, वैशाख ७, २०८१
10:31 | १५:१६

बेलायतमा बढ्यो कोरोना, थप एक सय ३७ को मृत्यु

थप १९ हजार ७ सय २४ संक्रमित

नेपाली लिङ्क अक्टोबर १४, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या पछिल्लो २४ घन्टाभित्र २० हजार हाराहारी पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बिहीबार बेलायतमा थप १९ हजार ७ सय २४ जना नयाँ संक्रमित थपिएका हुन् ।

हिजो बुधबार सार्वजनिक संख्याभन्दा आज संक्रमित संख्या साढे दुई हजारले बढी छ । योसंगै बेलायतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख ५४ हजार ६ सय ४४ पुगेको छ । गएको २४ घन्टामा २ लाख ६४ हजार भन्दा बढीको पीसीआर परीक्षण गरिएको स्वास्थ्य विभागले जनाएको छ ।

यसैगरी कोरोना संक्रमणका कारण २४ घन्टाभित्र थप एक सय ३७ जनाको मृत्यु भएको छ । मृतक संख्या भने अघिल्लो दिनको तुलनामा ७ जनाले कम छ । बुधबार एक सय ४३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्ला दुई दिनयताको मृतक संख्या विगत ४ महिनायताकै सबैभन्दा बढी हो ।

बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ हजार १ सय ५५ पुगेको छ । यसैगरी हस्पिटलमा भर्ना हुने कोरोना संक्रमितको संख्या पनि निरन्तर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप ६ सय ८० जना  कोरोनाका बिरामी हस्पिटल भर्ना भएका छन् ।

यो संख्या हिजोको तुलनामा दुई दर्जन भन्दा बढी हो । बेलायतका हस्पिटलमा अहिले ४ हजार ६ सय ५० जना कोरोना संक्रमित उपचारार्थ भर्ना भएका छन् । यसैगरी ‘भेन्टिलेटर बेड’ मा उपचार गराउनेको संख्या पनि बढेर ५ सय १६ पुगेको छ ।

कोरोना संक्रमणको दर तीव्र हुँदै गएपछि इंग्ल्याण्डमा आजैदेखि तीन तहको प्रतिबन्ध लागू भएको छ । संक्रमणको जोखिम मूल्यांकन गर्दै मध्यम, उच्च र अति उच्च तीन तहमा वर्गीकरण गरेर लकडाउन सम्बन्धि नियम लागू गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू