मंगलबार, वैशाख ४, २०८१
06:41 | ११:२६

यूकेका ज्योतिषीहरु भन्छन्: टीकाको साइत नेपाल र यूकेमा एकैदिन हुनुपर्छ

बेलायतमा सक्रिय सबै पन्डितहरु एकमत

नेपाली लिङ्क अक्टोबर १४, २०२०

लन्डन । यूकेमा क्रियाशिल नेपाली ज्योतिषीहरुले यस वर्ष दशैंको टीकाको शुभ साइत यूकेमा पनि अक्टोबर २६ मै हुनुपर्ने बताएका छन् ।  

नेपाल पन्चांग निर्णायक समितिले यूके सहितका केही मुलुकमा नेपालमा भन्दा एक दिनअघि अक्टोबर २५ मै टीकाको उत्तम साइत जुरेको भन्दै सूची प्रकाशित गरेपछि उनीहरुले फरक मत सार्वजनिक गरेका हुन् ।  

नेपाल ज्योतिष परिषदका आजीवन सदस्य ज्योतिषी पन्डित नीलहरि घिमिरे, विश्व हिन्दू महासंघ यूकेका गोविन्द नेपाल र ब्रिटिश आर्मी क्याम्प यूकेका पन्डित प्रेमप्रसाद गैरेले बेलायतस्थित सम्पूर्ण नेपाली ज्योतिषी एवम् पन्डितहरुको प्रतिनिधित्व गर्दै एक वक्तव्य जारी गरी नेपालमा टीका लगाइने दिन अक्टोबर २६ कै साइत यूकेमा पनि उत्तम हुने बताएका छन् ।  

‘दशैंको पूर्वसन्ध्यामा अब केही परिवर्तनको सम्भावना छैन्  पन्चांग निर्णायक समितिले तयार गरेको पन्चांगकै आधारमा हामीले सम्पूर्ण तयारी गरिसकेका छौं । त्यसैले यूकेमा हामी २६ अक्टोबर सोमबार नै दशैं मनाउने हो’- ज्योतिषीहरुको वक्तव्यमा भनिएको छ ।  

दशैंलाई देश-विदेशका नेपालीहरुको धार्मिक, सांस्कृतिक-सामाजिक र पारिवारिक पर्व भन्दै उनीहरुले परिवर्तनको नाममा परम्परा र संस्कृति बिगार्न नहुने मत व्यक्त गरेका छन् । संसारको जुनसुकै ठाउँमा बसेपनि नेपालीहरु आफ्नो मातृभूमिसंग जोडिएर बस्न चाहने कारण नेपालमा दशैं मनाउने दिनमै बेलायतमा पनि मनाउन उपयुक्त हुने ज्योतिषीहरुको धारणा छ ।  

दशैंको साइत परिवर्तन गर्ने कार्यले दशैं मान्ने विदेशस्थित नेपालीहरुमा भ्रम थोपर्ने काम गरेको उनीहरुको आरोप समेत छ ।  

‘नेपालमा सुर्योदय भएको जति घण्टामा शुभ साइत निकालिन्छ, हरेक देशमा त्यहाँ सुर्योदय भएको त्यति नै घण्टामा साइत पारेर टीका लगाउनुपर्छ’, ज्योतिषी पन्डित निलहरि घिमिरेले भन्छन्, ‘नेपालमा भन्दा फरक दिनमा साइत जुराउनुपर्ने किन आवश्यकता पर्‍यो ? यो त साइतको वहानामा हाम्रो परम्परा र संस्कृतिमाथि नै आक्रमणको रुपमा हामीले बुझेका छौं ।’  

बेलायतमा सक्रिय सबै नेपाली ज्योतिषी एवम् पन्डितहरु नेपालमा टीका लगाउने दिनमै बेलायतमा पनि टीका लगाउनुपर्ने पक्षमा रहेको दावी उनीहरुको छ । 

पण्डित संघ यूकेमा संगठित प्रेमप्रसाद गैरे, शिवचन्द्र निरौला, आत्माराम दहाल, शंकरमणि नेपाल, जगदीश पौड्याल, चिरन्जीवी ढकाल, नीलहरि घिमिरे, गोविन्द नेपाल, दुर्गाप्रसाद पोख्रेल, शेखर शाण्डिल्य काफ्ले, नारायण पौडेल, विनोद पन्थी, केदार रिमाल र उत्तम पौड्यालसहितका पन्डितहरु यो विषयमा एकमत रहेको बताइएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू