मंगलबार, वैशाख ४, २०८१
06:49 | ११:३४

बेलायतमा बेरोजगारी तीन वर्ष यताकै उच्च

बेरोजगारीको बढी मारमा युवा

नेपाली लिङ्क अक्टोबर १३, २०२०

लन्डन । कोभिड १९ महामारीका कारण बेलायतको बेरोजगारी विगत तीन वर्ष यताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको तथ्यांकले पछिल्लो तीन महिनाको अवधिमा बेरोजगारी उल्लेख्य बढेको देखाएको छ ।  

अगस्ट अन्त्यसम्मको तीन महिनामा बेरोजगारी दर ४.१ प्रतिशतबाट बढेर ४.५ प्रतिशत पुगेको छ । ‘रिडन्डेन्सी’ मा परेर बेरोजगार  हुनेको संख्या पनि सन् २००९ पछिको सबैभन्दा बढी पुगेको छ । 

सरकारद्वारा लागू गरिएको कडा लकडाउनका कारण व्यापार व्यवसायमा परेको असरले गर्दा बेरोजगारको संख्यामा वृद्धि भएको ठानिएको छ । कोरोनाको दोस्रो तरङ्ग शुरु हुँदै गरेको इंग्ल्याण्डमा अझ थप मार पर्ने स्पष्ट छ 

गत मार्चपछि रोजगारको खोजी गर्नेको संख्या अत्यधिक रुपमा बढेको राष्ट्रिय तथ्याँक कार्यालयले जनाएको छ । महामारी शुरु भएयता झन्डै पाँच लाख मानिस बेरोजगारीको चपेटामा परेका छन् । विशेषगरी युवा वर्गमा बढी असर देखिएको छ ।

पछिल्लो समयम जागिर गुमाउनेमध्ये हस्पिटालिटी क्षेत्रमा कार्यरत रहेकाहरु बढी छन् । बेरोजगारी भत्ताको लागि आवेदन दिनेहरुको संख्या पनि कोरोना संक्रमण शुरु भएयता १५ लाखले बढेको राष्ट्रिय तथ्याँक कार्यालयले जनाएको छ ।

सरकारले घोषणा गरेको ‘फर्लो स्किम’ को म्याद सकिएपछि बेरोजगारी थप बढ्ने आंकलन छ । यही अक्टोबर अन्त्यबाट सकिने उक्त स्किमलाई प्रतिस्थापन गर्न ल्याइएको ‘जब प्रोटेक्सन स्किम’ नोभेम्बरदेखि लागू हुनेछ ।  

सोमबार मात्रै प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमण नियन्त्रण गर्न थप प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । जसले गर्दा हस्पिटालिटी क्षेत्र सबैभन्दा बढी प्रभावित बन्ने ठानिएको छ ।

कोरोना संक्रमणको जोखिम र संक्रमण दरका आधारमा मध्यम, उच्च र अति उच्च गरी तीन तहको लकडाउन घोषणा गरिएको छ । मध्यम तहको जोखिम भएका ठाउँमा हाल जारी ‘रुल अफ सिक्स’ कायम रहनेछ र पब, बार तथा रेष्टुरेन्टहरु राति १० बजेसम्म नियमित रुपमा संचालन हुनेछन् ।

यसैगरी उच्च जोखिम भएका स्थानमा हाल जारी नियमका साथै ‘हाउसहोल्ड मिक्सिंग’ मा प्रतिबन्ध लगाइनेछ । अति उच्च जोखिम भएका स्थानमा भने पब, बार रेष्टुरेन्ट लगायतका हस्पिटालिटी क्षेत्रहरु बन्द गरिनेछन् ।  तर रिटेल शप, स्कुल तथा युनिभर्सिटी भने खुला  रहनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू