मंगलबार, वैशाख ४, २०८१
11:07 | १५:५२

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै बढी

२४ घन्टामा १२ हजार ४ सय २७ जनाको परीक्षण

रासस अक्टोबर ११, २०२०

काठमाडौं । गत २४ घण्टामा उपत्यकामा एक हजार ४१६ सहित दुई हजार ७१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५५२ जना रहेको जानकारी दिए । हालसम्म देशभरि जम्मा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ३१ हजार ३१५ छ ।

संस्थागत आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या १३ हजार ६४९ छ । प्रदेश १ मा एक हजार २९९, प्रदेश २ मा ६२०, बाग्मती प्रदेशमा नौ हजार ३०८, गण्डकी प्रदेशमा ६२५, लुम्विनी प्रदेशमा एक हजार १६९, कर्णाली प्रदेशमा ४७५ र सुदूरपश्चिम प्रदेशमा १५३ जना गरी जम्मा १३ हजार ६४९ जना छन् ।

प्रवक्ता गौतमले होमआइसोलेशनमा प्रदेश १ मा दुई हजार १८७, प्रदेश २ मा ५३४, बाग्मती प्रदेशमा ११ हजार ५२१, गण्डकी प्रदेशमा ५८०, लुम्विनी प्रदेशमा एक हजार ८४७, कर्णाली प्रदेशमा ४२६, सुदूरपश्चिम प्रदेशमा ५७१ जना गरी जम्मा १७ हजार ६६६ जना रहेको बताए ।

गत २४ घण्टामा गरिएको पिसिआर १२ हजार ४२७ मा गरिएको छ । त्यो सँगै हालसम्म ११ लाख ६७ हजार ९८४ को परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या चार हजार ६१३ छ । प्रदेशअनुसार प्रदेश १ मा ४२९, प्रदेश २ मा १२८, बाग्मती प्रदेशमा ३८३, गण्डकी प्रदेशमा ६११, लुम्विनी एक हजार ४७४, कर्णाली प्रदेशमा ४९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९६ जना छन् ।

सङ्क्रमण मुक्त भई हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ७५ हजार ८०४ जना छन् । कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७०.४ प्रतिशत छ । देशैभरि आइसियुमा उपचाररत बिरामीको सङ्ख्या ३२९ र भेन्टिलेटरमा उपचाररतको सङ्ख्या जम्मा ७६ रहेको छ ।

गत २४ घण्टामा कोभिड–१९ बाट २२ जनाको मृत्यु भएको छ । योसँगै कोभिड–१९ बाट ६३६ जनाको मृत्यु भएको छ । आजसम्म ५०० भन्दा बढी सङ्क्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् भने कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ छन् ।

विश्वमा हालसम्म तीन करोड ७५ लाख आठ हजार १४१ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने निको हुनेको सङ्ख्या दुई करोड ८१ लाख ४८ हजार ८१ छ ।

जहाँ छौँ त्यहीं चाडपर्व मनाऔँ– स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ लाई समान्य रुपमा नलिन अपिल गरेको छ मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले हालसम्म पनि कोभिड–१९ रोकथामसम्बन्धी भ्याक्सिन पत्ता नलागेको अवस्थामा त्यसलाई सामान्य रुपमा नलिन र तत्काल यसको नियन्त्रण सम्भव नभएको बताए । उनले भने, “हामी आफैँ सचेत भएनौँ भने अवस्था अझै जटिल आउन सक्छ, त्यसैले हामी जो जहाँ छौँ सचेत बनौँ सुरक्षित रहौँ ।”

उनले कोरोना सङ्क्रमण नेपालको शहर र घना वस्तीमा फैलिरहेको बताउँदै त्यस्ता ठाउँहरुमा भिडभाड कम गर्नुपर्नेमा जोड दिए । प्रवक्ता गौतमले चाडपर्व नजिकिंदै गरेको सन्दर्भमा किनमेल गर्न जाँदा सावधानी अपनाउन, अनिवार्य मास्क प्रयोग गर्न, अनिवार्य रुपले सावुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह गरे । चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न पनि अपिल गरिएको छ ।

मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्तिबाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ । गौतमले भने, “सरकारले पटकपटक अपिल गर्दै आएको छ, यसपालिको चाडपर्वमा बाहिर आवतजावत नगरौँ जहाँ छौँ त्यहीं मनाऔँ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू