शनिबार, वैशाख ८, २०८१
21:10 | ०१:५५

बेलायतमा एकै दिन कोरोनाबाट १५ हजार बढी संक्रमित

८१ को मृत्यु, कुल संक्रमित संख्या ५ लाख ९० हजार ८ सय ४४

नेपाली लिङ्क अक्टोबर १०, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १५ हजार १ सय ६६ जनामा कोरोना संक्रमित पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । २ लाख ८५ हजार १५ जनामा गरिएको परीक्षणमा १५ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् ।

अघिल्लो हप्ता शनिबार १२ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको थियो ।  योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ५ लाख ९० हजार ८ सय ४४ पुगेको छ ।  हालसम्म बेलायतमा २ करोड ४६ लाख ४० हजार ९ सय १५ जनामा कोरोना परीक्षण गरिसकिएको छ ।

यसैगरी गएको २४ घन्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ७ सय ६० पुगेको छ । मृत्यु हुनेमध्ये कोरोना संक्रमणबाट मृत्यु भएको प्रमाणपत्र (डेथ सर्टिफिकेट) दर्ताको आधारमा भने मृतक संख्या ५७ हजार ३ सय ४७ रहेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ ।

हस्पिटलमा भर्ना हुने संक्रमितको संख्या पनि दिनहुँ बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप ६ सय ८४ जना हस्पिटल भर्ना भएका छन् । हाल बेलायतका हस्पिटलमा ३ हजार ८ सय ३७ जना कोरोना संक्रमित भर्ना भएका छन् । यसैगरी ४ सय ४२ जना संक्रमितको  भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

पछिल्ला केहि हप्तायता बेलायतमा करोना संक्रमणको दोस्रो लहरको प्रभाव बढ्दै जाँदा कोरोना संक्रमितको संख्या, मृतक संख्या तथा हस्पिटल भर्ना हुनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ । संक्रमण थप जटिल बन्दै गएपछि आउँदो सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना नियन्त्रणका सम्बन्धमा थप प्रतिबन्ध घोषणा गर्ने भएका छन् ।

आउँदो हप्ताबाट इंग्ल्याण्डमा जारी लकडाउन थप कडाई गरिने बताइएको छ । यसबाट विशेषगरि पब तथा रेष्टुरेन्ट जस्ता हस्पिटालिटी व्यवसायलाई थप मार पर्ने सम्भावना छ  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू