बिहीबार, चैत १५, २०८०
11:44 | १७:२९

सहारा यूके पूर्व अध्यक्ष गुरुङलाई बेलायती महारानीबाट ‘एमबिई’ प्रदान

बेलायती राजदरबारमा महारानीबाट हुनेछ सम्म्मान वितरण

नेपाली लिङ्क अक्टोबर १०, २०२०

लन्डन । सहारा यूकेका पूर्व अध्यक्ष दिलिप गुरुङले बेलायती महारानीबाट प्रदान हुने प्रतिष्ठित एमबिई प्राप्त गरेका छन् ।  

परोपकारी कार्यमा विशिष्ट योगदान गर्नेहरुलाई  दिइने ‘मेम्बर अफ द अर्डर अफ  द ब्रिटिश एम्पायर’ (एमबिई) उनलाई मिलेको हो ।  

पूर्व गोर्खा सैनिक गुरुङले विगत १५ वर्षदेखि बेलायतको ब्ल्याकपुलमा होटेल तथा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । व्यवसायका साथै स्थानीय समुदायमा उनले निरन्तर गर्दै आएको सामाजिक कार्यहरुको कदरस्वरुप उनलाई यो प्रतिष्ठित सम्मान मिलेको हो ।  

शुक्रबार घोषणा भएको यो सम्मान बकिङहम प्यालेसस्थित बेलायती राजादरबारमा आयोजना हुने विशेष समारोहमा महारानीबाट प्रदान गरिनेछ । आफूलाई एमबिई प्रदान हुन लागेको खबर शुक्रबार समाचारमा आएपछि थाहा पाएका गुरुङले नेपाली लिंकसँग भने, ‘मलाई कुनै जानकारी थिएन । समाचार देखेर साथीहरुले बधाई भन्दै फोन गर्न थालेपछि मात्रै थाहा पाएँ ।’

स्थानीय समुदायमा आफूले गरेको कार्य बेलायती महारानीबाट कदर हुँदा निकै खुशी र उत्साहित बनेको उनले सुनाए   

‘मैले होटेल शुरु गर्ने बेलासम्मा आसपासको क्षेत्र लागूपदार्थ दुर्व्यसनीको ठूलो अखडा रहेछ । प्रयोग गर्नेहरु मात्र नभएर व्यापार गर्नेको  पनि केन्द्र’, के कामको लागि एमबिई सम्मान पाउनुभयो भन्ने जिज्ञासामा गुरुङ भन्छन्, ‘यस क्षेत्रलाई लागूपदार्थ दुर्व्यसनीहरुबाट मुक्त गर्नुपर्छ भनेर मैले धेरै प्रयास गरें । स्थानीय प्रशासन र काउन्सिलरहरुले पनि ठूलो सहयोग गरें । अन्तत: सफल पनि भयौं । अन्य सामाजिक कार्यसंगै यही कामको पनि मुल्यांकन भएको हो कि जस्तो लाग्छ ।’

स्याङजाको ओरस्टेमा जन्मिएका गुरुङले बेलायती सेनामा २० वर्ष सेवा गरेका थिए । सेनाबाट अवकासपछि १५ वर्षदेखि उनले बेलायतको ब्ल्याकपुलमा ‘द गोर्खा नाम’ को होटेल/ रेष्टुरेन्ट संचालन गर्दै आएका छन् ।  

कोल्मा बहाकोट समाज यूकेका संस्थापक अध्यक्ष समेत रहेका गुरुङले नेपालमा पनि विभिन्न परोपकारी कार्य गर्दै आएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू