आइतबार, कार्तिक ९, २०७७
01:46 | ०७:३१

अधोगतिमा हिंडेका बेलायती ‘राईहरु’

किराया यूके विवादबारे पूर्व अध्यक्षको टिप्पणी

भीम राई अक्टोबर १०, २०२०

भीम राई

सन् २००४ मा स्थापना भएको ‘किरांत राई यायोक्खा बेलायत’ खुट्टा लरबराउंदै १६ वर्षको जवानीमा हिंडिरहेको छ । तर, १६ वर्षे बैशालु जवानीसम्म आइपुग्न डार्विनको बिकासवादी सिद्धान्त झैं विभिन्न आरोह अवरोह पार गर्दै आइरहेको दिउसोको सूर्य झैं प्रष्ट देखिन्छ । अनि यहांसम्म आइपुग्न संस्थाभित्र काम गर्ने मानिसहरु धन्यबादका पात्रहरु हुन् भन्न सायद कसैको दुईमत नहोला ।

तर, अहिले आएर संस्थामा सानातिना समस्या देखापरेका छन् । निक्कै लामो समयसम्म सामाजिक सन्जाल र धारावाहिक आउने विद्युतीय पत्रहरु पढिसकेपछि केहि लेख्ने जमर्को गरिरहेको छु । हुन त ‘मेरो क्षमता’ भन्दा बाहिर गएर संस्थालाई मार्गदर्शन गर्न नसक्ने अवस्था उत्पन्न भएको बेला ‘किरात राई यायोक्खा’ बाट राजिनामा दिएर मार्गप्रशस्त गरेको ज्वलन्त उदाहरण इतिहासमा साक्षी छ । त्यसैले संस्थादेखि भारी थन्क्याइसकेको भएपनि ‘किरात राई’ बाट थन्क्याएको चाहिं अवश्य पनि होइन ।

किनभने म राई भएर जन्में र राई भएर नै अन्तिम सास फेर्ने धोको छ । सम्भवतः यो मेरो रोजाइमा परेको होइन, तर म त्यसैमा खुशी छु । मैले यसो भनिरहंदा पौल उथोको यी मुनी लेखिएका एउटा हरपले मेरो ह्दयलाई किन किन विक्षिप्त बनाइरहेको छ । त्यसैले ह्दयको एउटा कुनाबाट केही अक्षर निकालेर सिर्जित गर्ने प्रयत्न गरेको हुं ।

‘यदि तिमी समस्या समाधान गर्न भाग लिएनौ भने तिमी आफैं समस्याको हिस्सेदार हुनुपर्छ ।’

किराया बेलायतको पूर्व अध्यक्ष भएको नाताले भन्दा पनि प्रजातन्त्रको जननी राष्ट्रमा बसेर यो लेख लेख्दै गर्दा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास पनि गरिरहेको हुं । तर मैले यहां विचार राख्दै गर्दा पाउने अपशब्द देखि उपनाम सहितको नकारात्मक टिप्पणीले मेरो शरीर जाडो महिनाको सिरकले झैं गरल्याम्मै ढाक्नेछन् भन्नेमा केही हदसम्म चेतनशील छु ।

किनभने नेपाली समाजशास्त्रीहरुले कल्पना गरेर बनाएको हाम्रो समाजको निर्माण नै त्यही प्रकारले भएका छन् । तर त्यस्तो प्रश्न गर्ने मनुवालाई भोल्टेयरले, ‘उसको उत्तरको सट्टामा, उसले गरेको एउटा प्रश्न निर्णायक हुन्छ’, भनेर तर्क गरेका छन् । किनभने कुनै पनि ब्यक्तिले गर्ने प्रश्नले उसको बौद्धिक क्षमताको राम्ररी प्रस्तुत गर्दछ ।

अब किराया बेलायतको प्रसङ्ग कोट्याउने छु । संस्थाले अहिले केही समस्या झेलिरहेको हामी सबैलाई विधितै छ । तर ‘जहां समस्या हुन्छ, त्यहां सामधानका उपाय पनि हुन्छन् ।’ त्यसैले हामी सबैले आ-आफ्नो साधन, श्रोत, क्षमता र शक्तिले भ्याइन्जेलसम्म दिनरात समाधानका उपाय खोज्न प्रयत्न गरिरहेका छौं र रहने छौं ।

तर ‘ब्ल्याक होलको निर्माण’ सम्बन्धि सर रोजर पेनरोजले जति सजिलो यो वर्षको भौतिक शास्त्रमा नोबेल पुरस्कार पाए, हामीलाई किराया बेलायतको समस्या समाधान गर्न त्यो भन्दा ज्यादै कठिन भइरहेको तितो सत्य हो । तै पनि कोरोनाको यस्तो कहरमा हामी पटक्कै हारेका छैनौ । र, हरेस पनि खाएका छैनौं । यस अर्थमा हाम्रा अथक प्रयासहरु अहिलेसम्म जारी छन् । यद्यपि हामीले जति सजिलो सोचेका थियौं, त्यो भन्दा अवस्था जटिल छ । तितो यथार्थ यिनै हुन् । किनभने, ‘एउटा रूखलाई विद्वान र मुर्खले बेग्लै प्रकारले देख्ने गरेका हुन्छन्’, यो ऐतिहासिक सत्य हो ।

तर त्यसो भन्दै गर्दा म बिछट्टै विद्वान र बांकी सबै पटमुर्ख हुन् भन्न खोजेको चाहिं पटक्कै होइन । बरु के चाहिं भन्न खोजेको हुं भने हामी सबैको अध्ययन, सिप, तालिम र अनुभव चाहिं निश्चय नै बराबर छैनन् । अनि स्वभावैले हाम्रो उमेर फरक होला । हामी कोहि फरक लिङ्गका हौंला ?

तर खोटाङ होस् वा भोजपुर नजाने गुमपहाड, नाम्ची, टाइमोसान, अल जुबायल, लुभेन, ज्याकसन हाइट र ग्याम्बल लेनका प्रकृति पुजकहरु सुन वा नुनका एक्कै ढिक्का हुन् । निश्कर्षमा ‘आखिर राई राई नै हौं’, र ‘एकता नै बल हो’, भन्ने कुरो ह्दयदेखि हामी सबैले एकपटक मनन गर्नै पर्ने हुन्छ ।

अझै यसलाई थोरै प्रष्ट्याउने प्रयत्न गरौ । मेरो मुख्य अभिप्राय चाँही मार्क्सबादी भाषामा प्रयोग हुने तिनै शब्द कुनै बर्ग वा समूहलाई लक्षित गरेर गाली गलौज गर्ने चाहिं निश्चय पनि होइन । कसैलाई मार्न, पार्न वा दिल दुखाउने रहर पनि पटक्कै गरेको छैन् । किनभने किरायामा मेरो पूर्वाग्रह कसैसंग छैन् र हुने पनि छैन । कथमकदाचित त्यस्तो भएछ भनेपनि अग्रिम क्षमाप्रार्थी चाहन्छु ।

अ ! बरु, ‘केहि हुन्छ, सबै राम्रोको लागि नै हुनेछ ।’

बर्तमान मानव जीवनले स्विकार गरेका यि माथिका हरपहरु हुन् । त्यतिमात्रै नभएर, अझैपनि चन्द्रमा पूर्वबाट नै उदाएका छन् र पश्चिममा अस्ताइरहेकै छन् । हामी माथिको आकाश खसेको अनुभूति कुनैपनि बेलायती राईहरुलाई भएको छैनन् ।

निशन्देहः हामीसंग केही समस्या छन्, तर आशा गरौं एक, दुई र तीन महिना रहन्छ, त्यसपछि बिस्तारै आफैं निराकारण हुंदै जानेछन् । किनभने विज्ञानको नियम नै मान्ने हो भनेपनि सबै कुराको लोप निश्चित समय पुगेपछि आंफै हुंदै जानेछ ।

कुनैपनि सामाजिक संस्थामा त्यस्ता कुराहरु आउछन् र बिस्तारै जान्छन् । झन जातिय संस्था भनेका एकाघरको परिवार जस्तै हुन् । त्यसैले झिनामसिना विवाद भइ नै रहेका हुन्छन् । तर, विवादले उग्ररुप लिन थाल्यो र लडाईं भयो भने जातिय संस्थाकालागि एकदम अहितकार पनि हुन्छ । यसै सन्दर्भमा कानूनको विद्यार्थी मेरी छोरीले भनेको एक हरप यहां उजागर गर्न मन लाग्यो । ‘यदि राईहरु लडाईं नै गर्नु चाहनुहुन्छ भने पहिले दुश्मनको पहिचान गर्न आवश्यक हुन्छ ।’

मेरी छोरीले भनेझै ‘राईहरुको दुश्मन राई’ हुनै सक्तैन । यदि हामी सबै मिलेर लडाईं गर्ने नै हो भने जननायक रामप्रसाद राई, नारदमुनी थुलुङ, बलबहादुर राई र अशोक राईको सपना साकार पार्न सक्नुपर्छ । अझै यस विषयलाई हामी सबैले राम्ररी अध्ययन तथा अनुसन्धान गर्न उपयुक्त्त हुन्छ होला ? किनभने हाम्रो दुश्मन भनेको त्यो शक्त्ति हो जसले विगत दुईसय वर्ष देखि देश बाहिर जानपर्ने वाध्यता सिर्जना गरिरहेको छ ।

अनि अर्को दुश्मन को हो ? त्यो हो, जसले चुनाबको समयमा ‘राईको सट्टा भट्टराई’ लाई जबरजस्ती मताधिकार प्रयोग गर्न पाठशाला खोलेर कण्ठस्त गराइरहेका हुन्छन् । अझ त्यो भन्दा दुःखद कुरो त गैर किरातलाई मत दिन लगाउंछ र गैर किरातले जितेपछि ‘किरात प्रदेश’ माग राख्न शिर झुकाएर पठाउंछ । त्यो भन्दा ठूलो अन्याय हामी राईहरुलाई अर्को के हुन सक्छ ?

अनि बिश्वभरि इमान्दारिता कमाएका हामी जस्ता सिधा साधा राईहरुलाई फसाएर बिषबृक्ष रोप्ने र कल्पबृक्षको आशाबादी गराउने दुश्मनलाई चिन्न सक्नु पर्दछ । दुर्भाग्यवस त्यस्तो धुर्तले गरेको दुःखद एवं त्रासदीपूर्ण कार्यलाई हामीले हेर्ने ऐनामा पाक्दै नपाकेको डण्डिफोर देख्यौ, तर फोहरी खेललाई कहिले छ्याङ्गै देख्न सकेनौ ।

मलाई यसैमा प्रख्यात भौतिकशास्त्री मिचियो काकुको भनाई जोडन मन लाग्यो, ‘डेमोक्र्यासी भर्सेस डेमोक्र्यासीको लडाई कहिले हुदैन ।’ उनका भनाईमा केहि सत्यता अबश्य छ । किनभने संसारका धेरै इतिहासहरुमा केबल निरङ्कुसताबाद, साम्यबाद र राजा महाराजाबादको विरुद्ध मात्रै लडाईहरु भएका छन् ।

हुन त सायद भौतिकशास्त्रमा कानूनमा जस्तै ठोस प्रमाणहरु पेस गरिरहन नपर्ला तर काकुको भनाईबाट स्वाभाविक रुपमा के ज्ञान आर्जन गर्न सकिन्छ भने ‘राई भर्सेस राई’ झगडा नहुनुपर्ने देखिन्छ । यदि क्षणिक अवस्थाका लागी भइहाल्यो भनेपनि ‘हामी हामी’ भनेर तत्कालै भुसको आगो निभाई हाल्न उचित हुन्छ ।

अर्को कुरा जातीय संस्थामा राजनैतिक कुरा कहांबाट उदय भयो ? सरल मानवीय स्वभावका चर्म चक्षुहरुले निश्चय नै त्यो दृष्टिगोचर गर्न सक्छन् । तर कुरोको मुल जरो बिज्ञान र प्रविधिबाट शुरु गरौं । किनभने विज्ञानले साधरण मानवले सोचे भन्दा निक्कै धेरै अगाडि फडको मारिसकेको अवस्था छ । जसले बिज्ञान पछ्याउदैनन्, उ गरिब हुन्छ । तर एउटा कुरा याद राख्नु होला- ‘स्वेच्छाले गरिव हुन चाहिं मज्जाले पाइन्छ ।’

तर, यो लेखको उद्धेश्य गरिब या धनी हुनु चाहिं पटक्कै होइन, मात्र राईहरुबीच एकता हुनु हो ।

अझै इर्स्यालु मनोविश्लेशक सिगमन्ड फ्रायडको ‘इड’ जस्तो कूटनीतिक ढङ्गले होइन, सरल भाषामा नै वर्णन गरौं । सबै राईहरु एकत्रित भयौ भने एउटा शक्ति तयार हुन्छ । त्यही शक्ति अधिकार प्राप्तिको लडाईमा उपयोग गर्न सकिन्छ । अन्तमा हाम्रो मुख्य मुद्दा भनेको नै अरु जतिकै ‘बराबर अधिकार’ पाउनु हो, बढि होइन । यदि त्यो कुरा एकजना अश्वेत महिला ‘रोजा पार्क्स’ ले समयमा नै नबुझेर आफू बसेको बसको सिट छाडिदिएकी भए अहिलेसम्म अमेरिकन अश्वेतहरुको हालत के हुने थियो कल्पना गर्न सकिन्नथ्यो ।

फेरि एकपटक अमेरिकाकै कुरो गरौं । निल आर्म्सट्रङले चन्द्रमामा पहिलो पाईला टेक्त्तै गर्दा ह्युस्टनले ‘त्यहाँ बाट अमेरिकालाई कस्तो देखिन्छ ?’ भनेर अहिले प्रश्न सोधेको भए मैले त केबल ग्याम्बल लेनमा दुई हातले कुर्सी उचालेर राईहरुको भिडन्त हुन लागेको मात्र देख्न सके भन्ने जवाफ दिन्थे होला सायद तर, केही छैन् निलको मृत्यु भइसकेको छ । दुर्भाग्यवस् हामी राईहरु अहिलेसम्म जिवितै छौ । तै पनि कुनै कुनै बेला हाम्रो घर झगडाले गर्दा आफ्नो अनुहार लुकाउने स्थिति उत्पन्न हुंदा मरेतुल्य हुनु परेको छ । त्यसैले जति महँगो भएपनि ‘राई भाई’ मिलेर बस्ने वातावरण सिर्जना गरौं ।

तर, हामी मिल्ने कसरी ? ‘स्टेफेन हकिङ्स’ ले भनेझैं मिल्ने हो । उनले भनेका छन्, ‘खुला आकाश हेर्ने हो, भुईंको खुट्टा होइन ।’ किनभने ग्याम्बल लेनमा सिली टिप्तै गर्दा उचालिएका हाम्रा खुट्टाको सरदर लम्बाई त एकफिट जति मात्रै हुन्छ । त्यसबाट केहि देख्न सकिन्न । तर आकाश त विशाल छ ।

तपाईं आफै कल्पना गर्नोस त, ‘ओर्ट बादल’ मा रहेको क्षुद्रग्रह यम नै ५ बिलियन किमी टाढा छ । र, त्यसपछिको तर हामी नजिकै रहेको ‘कुमारी सुपरक्लष्टर’ ६५ मिलियन प्रकाश वर्ष र अझै भर्खरै पत्ता लगाइएको ‘सरस्वती सुपरक्लष्टर’ त झन् ४ बिलियन प्रकाश वर्ष टाढा छ ।त्यसैलाई सम्झे काफी पुग्नेछ । हामी सबैले हेर्ने आ-आफ्नो दृष्टिलाई विशाल बनाउने हो । र, हाम्रो मिलनबिन्दु भनेको त्यो हो, जहां हामीबीचको इष्र्या र दृष्टि सधैं एकअर्कामा लुकामारी खेलेर बसिरहेको छ । तर, त्यो कुरो परिवर्तन गर्न अति नै सानो शावक चरीको बच्चाको छाती जस्तो चाहिं पटक्कै गर्नुहुन्न । नत्रभने एकदम गारहो पर्छ ।

फेरि घुम्दै फेर्दै मुल बाटोमा फर्क्यौ । किरायाको निर्णायक तहमा बस्नु हुने सबै वर्तमान पदाधिकारीहरुले विधि, विधान, पद्धति र प्रकृयालाई आ-आफू परिभाषित गर्नु भएको छ । म तपाईंहरुको त्यो विचारलाई आत्मियताका साथ शिरोपर गर्दछु । तर बुझ्नुपर्ने कुरो चाहिं सिक्काको अर्को पाटो पनि हुन्छ । हामी सबैलाई थाहा भएकै हो, संसारको सबै बिद्रोह पूर्व राज्यसत्ताले राखेका नियम र पद्धति विपरित गएर नै भएका हुन्छन् । त्यसकारण मैले के पनि बुझेको छु भने हामी त बिद्रोहमा पनि उत्रेका छैनौं ।

तर समग्रमा अहिलेसम्म जे हुदैछ, ठिक्कै हुदैछ र प्रत्येक दिन पाठ सिक्दै जादैछौ । हरेक नयाँ बिहानीको लालीसँगै उदाएका तपाईहरुको बिभिन्न बिचार नयाँ स्फुर्तका साथ हुर्किरहेका छन् । र कुनै कुनै सपनाहरु त्यतिक्कै खेर पनि गइरहेका छन् ।

अब एकपटक माथि भनेझैं शावक चरिको भन्दा विशाल छाती लिएर एकआपसमा भेट गर्नुहोला ? तपसिलका कुरामा हाम्रो आपतविपत रहेका छन् भनेर छलफल गर्नुहोला । आशा एवं भरोसा गरौं, सायद कुनै न कुनै निश्कर्ष निस्केला ? यदाकदा संस्थाको काम गर्ने क्रममा कसैको केहि गल्ति भएका छन् भने त्यसलाई सुधार्ने अवसर दिनुहोला । गल्ती गर्नु ठूलो कुरो होइन, माफ दिनु सबैभन्दा ठूलो कुरो हो ।

किनभने, ‘एकजनाले कहिले गल्ती गर्दैन भने उसले नयां कुरा गरिरहेको हुंदैन ।’ मैले भनेको होइन, आइन्सटाईनले भनेका हुन् । काम गर्ने क्रममा सबैले राम्रै गर्छु भनेका हुन्छन् । तर, सधैं त्यस्तो नहुन पनि सक्छ ।

‘अजम्बरी कोहि पनि हुंदैनन्, सबै एकदिन मर्नै पर्छ ।’ विश्व बिजेता भनेर चिनिने अलेक्जान्डर महानले पनि आफ्नो मृत्युपश्चात् केहि लगेका थिएनन् । र हामीले पनि के नै लानु छ र ? दुईदिन बांच्दा सबै ‘राई भाई’ हांसी खुशी भएर बांचौं र अरुलाई पनि बचाऔं । बरु एउटा कुरा चाँही निश्चय नै हेक्का राखौं । किनभने हामी हरेकदिन आफ्नो मृत्युको नजिक नजिक गइरहेका हुनेछौं ।

त्यसैले हामी एकैदिन अगाडि मिल्न सकियो भनेपनि जिन्दगीको एकदिन अगाडि देखि शान्तिको सास फेर्न सकिन्थ्यो कि ? यहि अवसरमा टल्सटायले लेखेको एउटा कथाको पात्र पाहमलाई पनि जोड्न मन लागिरहेको छ । आखिर जति लोभ, इष्र्या, डाहा र रिस देखाएपनि मृत्यु पर्यान्त मानिसले पाउने भनेको त्यही ‘६ फिट जमिन’ मात्रै त हो ।

‘बैभवपूर्ण बांच्न पाउं ।’ आफू कलिलो उमेरमा मृत्युबरण भएपनि लामो जीवन बाँच्न पाउनेहरुको लागि फ्रेडरिक नित्सेको त्यो महानवाणी हाम्रो लागि एकदम काफी छ । समग्रमा हामी मिलेर वैभवपूर्ण तरिकाले अर्को वर्ष ग्याम्बल लेनमा संगसंगै शाकेला नाचौंला । नत्रभने सुम्नीमा र पारुहाङ्ले हामी सबैलाई धिक्कार्ने छन् ।

तर चन्द्रमा दाहिने होइन, देब्रे परेर हामी एकआपसमा छुट्टियौ भने अनि एकाघरको श्रीमान र श्रीमती फाल्टै फाल्टै दिन ग्याम्बल लेन पुग्यौ भने हाम्रो जीवनमा त्यो जतिको दुर्दशाको दिन अन्य कुनै दिन हुनेछैन् । जुनकुरो किराया बेलायतको भावना, मर्म र धर्मको विपरित हुनेछ भन्ने मेरो ठम्याइ हो ।

मेरो बुझाईको जातिय संस्था भनेको एउटै जातभित्र आपसी हित जोडने दरहो पुल हो, तोडने होइन् । आशा एवम भरोसा गरौं, सम्भवतः त्यस्तो कुदिन हाम्रो सामु नआउला, यदाकदा आउन खोज्यो भनेपनि आउन नदिनका लागि सम्पूर्ण राई बन्धुहरुमा यसै लेखमार्फत हार्दिक अपिल गर्दछु ।

अन्तमाः अक्सफोर्ड युनिभर्सिटीको चर्चिल अस्पतालमा प्राध्यापक सर रिचार्ड फ्रेन्डसंग एकजोर मिर्गौला र आमाशय प्रत्यारोपण गर्न दशघण्टा समय खर्च गरेर सांझ घर फर्केका मेरो छोराले, ‘अधोगतिमा हिंडेका बेलायती राईहरु’ लाई तपाईंले के गर्नु भयो ? भन्ने प्रश्नको उत्तरमा मैले पनि उसलाई त्यही जवाफ फर्काइदिएं ।

जुन जबाफ एथेनियनहरुबाट मृत्युदन्ड पाएका पश्चिमी दर्शनका पिता शुक्रोटिसले बिषालु बनस्पतिको झोल ‘हेमलक’ पिउने बेला प्लेटोले उनको जीवनको भिख माग्दै गर्दा पाएका थिए । छोरा, ‘मलाई एउटा कुरो मात्र थाहा छ, केहि थाहा 
छैन् ।’

(लेखक किरात राई यायोक्खा, बेलायतका पूर्व अध्यक्ष हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू