सोमबार, असोज २८, २०८१
23:48 | ०४:३३

यसपटकको तिहारमा खुल्छ रानीपोखरी

रासस अक्टोबर १०, २०२०

भूकम्पले क्षतिग्रस्त रानीपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागले पुनःनिर्माण सम्पन्न गरेको छ । भक्तपुरबाट कालीगढ ल्याएर परम्परागत शैलीले कालोमाटो प्रयोग गरेर पोखरी आक्रर्षक बनाइएको छ । तस्वीर-चन्द्रकला क्षेत्री, रासस

काठमाडौं । पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरी दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ ।

गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए । भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीमा रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए ।

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा यही असोज १५ गते बिहान ८ बजेको साइतमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिसकिएको छ । मुख्य गजुर १२३ किलोग्राम तौलको तामाले बनेको हो । गजुरको बाहिरी भागमा भने सुन लेपन गरिएको छ ।

सो ऐतिहासिक सम्पदा निर्माणका लागि शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुरयाएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेका थिए । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरी निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रका नाममा यो पोखरी बनाएका हुन् ।

पोखरीको निर्माण करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७-इसं १६७०) मा शिलापत्र राखिएको थियो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू