शनिबार, वैशाख १५, २०८१
04:48 | ०९:३३

बेलायतका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी गर्न १० दिन समय

कार्तिक ३ सम्म उजुरी गर्न आव्हान

नेपाली लिङ्क अक्टोबर ७, २०२०

बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी

काठमाडौं । बेलायतका लागि नयाँ राजदूतमा सिफारिश भएका लोकदर्शन रेग्मीविरुद्ध उजुरी गर्न १० दिनको समय उपलब्ध गराइएको छ । संसदको संसदीय सुनुवाई समितिले सरकारबाट राजदूतमा प्रस्तावित रेग्मीविरुद्ध कुनै उजुरी भए १० दिनभित्र दर्ता गर्न आव्हान गरेको  छ ।

बुधबार सम्पन्न समितिको बैठकले उजुरीका लागि आगामी कार्तिक ३ गतेसम्मको समय उपलब्ध गराउने निर्णय गरेको छ ।  

समितिले एक सूचना जारी गर्दै राजदूतमा सिफारिश गरिएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आाधार एवम् प्रमाणसहित उजुरी गर्न भनेको छ । उजुरीकर्ताको परिचय गोप्य राखिने पनि समितिले स्पष्ट पारेको  छ ।

अमेरिकाका लागि सिफारिश भएका डा. युवराज खतिवडा र दक्षिण अफ्रिकाका लागि सिफारिश डा. निर्मलकुमार विश्वकर्माविरुद्धको उजुरीका लागि पनि सोही समय उपलब्ध गराइएको छ ।  

यसअघि मुख्यसचिवबाट राजीनामा गरेलगत्तै लोकदर्शन रेग्मीलाई सरकारले  बेलायतको राजदूतमा सिफारिश गरेको थियो ।  

राजदूत नियुक्तिको प्रक्रियाअनुसार मन्त्रीपरिषदले सिफारिश गरेको नाम संसदीय सुनुवाई समितिमा गएको थियो । संसदीय सुनुवाई समितिको प्रक्रिया पूरा भएपछि उनको नाममा ‘एग्रिमो’ का लागि बेलायत पठाइनेछ । बेलायत सरकारले स्वीकृति जनाएपछि उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्नेछिन् ।  

लामो समय प्रशासनिक सेवामा बिताएका रेग्मी पछिल्लो तीन वर्ष मुख्यसचिव  थिए । त्यसअघि उनले गृह, अर्थ, भौतिक योजना लगायतका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । प्रशासनिक क्षेत्रको सर्वोच्च पदसम्म पुगेका रेग्मीको लागि  कूटनीतिक क्षेत्र भने नयाँ हो ।  

यसअघि आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी नयाँ राजदूतको नियुक्तिपछि नेपाल फर्किने तयारीमा छन्   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू