शनिबार, साउन १२, २०८१
07:11 | ११:५६

बेलायतका समाजसेवी खरेलको च्यारिटीबाट अनाथ आश्रमलाई ३ लाख

५० अनाथ बालबालिकालाई सहयोग गरिने

नेपाली लिङ्क अक्टोबर ५, २०२०

लन्डन । बेलायतका सक्रिय नेपाली समाजसेवी एवम् युवा व्यवसायी विष्णु खरेलले नेपालका अनाथ बालबालिकाको सहयोगार्थ एक च्यारिटी कार्यक्रम गरी करिब ३ लाख रुपैयाँ जुटाएका छन् । खरेल संचालक रहेको बेलायतको ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टमा आइतबार साँझ आयोजित च्यारिटी कार्यक्रममा २ हजार पाउन्ड संकलन भएको हो । 

संकलित रकम काठमाडौंमा ५० अनाथ बालबालिकालाई संरक्षण प्रदान गरिरहेको ‘माया घर’ अनाथ आश्रमलाई सहयोग गरिनेछ ।  

च्यारिटी डिनरका सहभागीबाट १८ सय ८० पाउन्ड ८० पेन्स संकलन भएकोमा कार्यक्रममा सहभागी नेपाली कम्युनिटीका अगुवाहरुले केही रकम थप गरी २ हजार पाउन्ड पुर्याएका थिए । कोष संकलनका लागि विभिन्न नेपाली सामग्री पुरस्कार रहेको ‘राफल ड्र’ का साथै नेपाली गोर्खा खुकुरी अक्सनमा बिक्री गरिएको थियो ।  

च्यारिटी डिनरमा बेलिफ रेष्टुरेन्टका नियमित ग्राहकहरुको साथै बेलायतको नेपाली समुदायका अगुवाहरु पनि सहभागिता थियो ।  एनआरएनए यूकेका उपाध्यक्ष सुनिलबाबु खड्का, महासचिव फडिन्द्र भट्टराई, इङ्ल्यान्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठ, एनआरएनए यूके सहकोषाध्यक्ष सकुन्तला गुरुङ र सदस्य हेम गुरुङ, एनआरएनए अभियन्ताहरु शेर सुनार, थर्क सेन, सहारा यूके संस्थापक अध्यक्ष नवीन गुरुङ, सन्चारकर्मी एवम् निर्देशक कुशल श्रेष्ठ, पत्रकार बाचस्पति  रेग्मी, युवा अभियन्ताहरु राजन खकुराल, सुरेन रुपाखेती, सेफ विनोद बराल लगायत उपस्थित थिए ।

कार्यक्रमका  सहभागीहरुलाई स्वागत गर्दै बेलिफ रेष्टुरेन्टका संचालक खरेलले  काठमाडौंमा झन्डै ५० जना अनाथ बालबालिकाको रेखदेख गरिरहेको ‘माया घर’लाई सहयोगको प्रयास गरेको सुनाए । कोभिड महामारीले निम्त्याएको असहज अवस्थामा पनि च्यारिटी  कार्यक्रममा सहभागी भएर सहयोग गर्ने सबैप्रति उनले आभार प्रकट गरे ।  

त्यसअवसरमा राफल ड्र र अक्सनको संचालन नवीन गुरुङले गरेका थिए । कार्यक्रममा उपस्थित स्थानीय बेलायतीहरुमाझ उनले बेलायती सेनामा कार्यरत गोर्खाहरु एवम् नेपाल- बेलायत सम्बन्धको इतिहासबारे ‘ब्रिफ’ गरेका थिए ।  

व्यवसायसंगै समाजसेवामा पनि उत्तिकै सक्रिय बेलिफ रेष्टुरेन्ट संचालक खरेलले नियमित रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । यस वर्षमात्रै उनले १० लाख रुपैयाँको सहयोग नेपाल पठाइसकेका छन् ।  

तस्विरहरु सौजन्य- कुशल श्रेष्ठ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू