शनिबार, वैशाख ८, २०८१
23:46 | ०४:३१

बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

२४ घन्टामा थप २२ हजार ९ सय ६१ नयाँ संक्रमित

नेपाली लिङ्क अक्टोबर ५, २०२०

लन्डन । पछिल्लो २४ घन्टाभित्र बेलायतमा झन्डै २३ हजार कोरोना संक्रमित थपिएका छन् । विगत दुई सातायता बेलायतमा कोरोनाको दोस्रो लहरको संकेत देखिन थालेसंगै संक्रमित संख्या दैनिक रुपमा बढ्दै गएको हो ।

आइतबार राति करिब साँढे नौ बजे सार्वजनिक गरिएको तथ्यांक अनुसार २४ घन्टामा थप २२ हजार ९ सय ६१ जना नयाँ संक्रमित पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । आइतबार सार्वजनिक तथ्यांक अनुसार बेलायतमा ५ लाख २ हजार ९ सय ७८ जना संक्रमित भएका छन् ।

करिब दुई हप्ताअघि दैनिक तीन हजार भन्दा कम संक्रमित रहेको बेलायतमा आइतबारको सार्वजनिक तथ्याँक अनुसार सात गुणाले वृद्धि भएको हो ।

शनिबार सार्वाजनिक तथ्यांकमा पनि अघिल्लो दिनको तुलनामा झन्डै दोब्बर अर्थात १२ हजार ८ सय ७२ नयाँ संक्रमित थपिएका थिए ।

गत २४ सेप्टेम्बर देखि अक्टुबर १ सम्म सार्वजनिक तथ्यांकमा प्राविधिक गडबडी भएको भन्दै आगामी दिनमा संक्रमितको संख्या अझ बढ्न सक्ने स्वास्थ्य विभागले बताएसंगै संक्रमित संख्या निरन्तर बढ्दै गएको हो  ।

यसैगरी गएको २४ घन्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ५० पुगेको छ ।

हाल बेलायतका अस्पतालमा २ हजार ४ सय २८ जनाको कोरोना सम्बन्धि उपचार भैरहेको छ जसमध्ये ३ सय ६८ जना भेन्टिलेटर बेडमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू