शुक्रबार, वैशाख १४, २०८१
04:56 | ०९:४१

अल्डरसटमा दिनदहाडै लुटिइन् ७० वर्षीया नेपाली वृद्धा

तीन महिलाले कठोर तरिकाले लुटेको प्रहरी भनाइ

नेपाली लिङ्क अक्टोबर २, २०२०

अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टरको सिंढीमा बसिरहेकी वृद्धाबाट दिनदहाडै घाँटीको सिक्री लुटिएको हो

लन्डन । बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटमा दिनदहाडै एक नेपाली वृद्धा लुटिएकी छन् ।  

गत सेप्टेम्बर १९ शनिबार दिउँसो तीनजना गोरो वर्णका महिलाहरुले ७० वर्षीया नेपाली वृद्धाले घाँटीमा लगाएको सुनको सिक्री ‘कठोर तरिकाले’ लुटेको ह्याम्प्शायर प्रहरीले जनाएको छ ।  

दिउंसो पौने २ देखि सवा २ बजेभित्रको समयमा अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टरबाहिर घटना भएको हो । सेन्टरको सिंढीमा बसिरहेकी वृद्धाबाट लुटेरा महिलाहरुले घाँटीको सिक्री लुटेर भागेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुरुमा दुई अपरिचित महिलाहरु आएर पीडितलाई समय सोध्छन् । उनीहरुले पीडितको ध्यान अन्यत्र मोडेर तेस्रो महिलाले पीडितको पछाडिबाट घाँटीमा लगाएको सुनको सिक्री झम्टिन्छे । र, सिक्री चुंडिएपछि तिनै जना महिला सिक्री लिएर भाग्छन् ।

प्रहरीले लुटपाटमा संलग्नहरुको खोजी भइरहेको भन्दै यसबारे कुनै पनि सूचना भए उपलब्ध गराउन आग्रह गरेको छ ।   

साथै, कोही शंकास्पद व्यक्तिले २४ क्यारेटको सुनको चुंडिएको सिक्री बेच्ने कोशिस गरेको पाए १०१ मा रेफरेन्स नम्बर ४४२००३६३९०७ का साथ फोन गर्न प्रहरीले आग्रह गरेको छ ।

वैकल्पिक रूपमा गोप्य तरिकाले ‘क्राइम स्टपर्स’ लाई ०८०० ५५५ १११ मा पनि फोन गरेर खबर गर्न सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू