शनिबार, वैशाख ८, २०८१
04:28 | ०९:१३

एनआरएनएले स्कटल्यान्डका नेपाली एक ढिक्का बनाएको छ

स्कटल्यान्ड राज्य परिषदका एक वर्ष

नेपाली लिङ्क सेप्टेम्बर २८, २०२०

एनआरएनए स्कटल्यान्ड राज्य परिषदका अध्यक्ष छबिलाल अर्याल

लन्डन । एनआरएनए यूकेको नवौं कार्यसमिति चयन भएको यही  साता एक वर्ष पूरा भएको छ ।  

एनआरएनए यूके अन्तर्गतका चारवटा राज्य समन्वय परिषदमा समेत सोही समय पहिलोपटक निर्वाचन भएर नयाँ कार्यसमिति आएका थिए ।

एनआरएनए यूकेका चार राज्य परिषदमध्ये वेल्स र नर्दन आयरल्यान्ड निर्विरोध भएपनि इङ्ल्यान्ड र स्कटल्यान्डमा भने कार्यसमिति चयनका लागि पेचिलो चुनाव नै भएको थियो   

स्कटल्यान्ड राज्य परिषदको अध्यक्ष पदमा झिनो अन्तरले विजयी भएका थिए छबिलाल अर्याल । 

निकै प्रतिस्पर्धात्मक चुनावबाट निर्वाचित भएर आएका अध्यक्ष अर्याल आफ्नो २ वर्षे कार्यकालको पहिलो वर्ष पूरै सफल भएको बताउंछन् ।  

‘स्कटल्यान्डका नेपालीमाझ एनआरएनए चिनाउने र यो संस्थाले हामी नेपालीहरुकै हितमा काम गर्छ भनेर बुझाउने काम भएको छ,’ एक वर्षभित्र भएका मुख्य उपलब्धिबारे अध्यक्ष अर्याल भन्छन्,’एनआरएनएप्रति यहाँका नेपालीहरुमा सकारात्मक  दृष्‍टिकोण निर्माण गर्ने काम भएको छ ।’

निर्वाचनका बेला दुई समूहमा विभक्त स्थानीय नेपाली समाजलाई एकताबद्ध गर्ने काम समेत आफ्नो कार्यसमितिले गरेको उनी बताउँछन्  ।

‘स्कटल्यान्डमै पहिलोपटक यहाँका सबै नेपाली संस्थालाई एकजुट गराएर एक ठाउँमा उभ्याउने काम एनआरएनएकै संयोजनमा सम्भव बनेको छ,’ अध्यक्ष अर्यालले थपे, ‘कोभिड १९ प्रभावित नेपालीको सहयोगका लागि एनआरएनए स्कटल्यान्डकै पहलमा यहाँस्थित सबै १४ संस्थाको सहभागितामा संयुक्त सहायता समिति गठन गरेर काम गर्यौं । स्कटल्यान्डमै समस्यामा पर्ने विधार्थी, दु:ख पाउने नेपाली लगायतलाई सहयोग गर्नुका साथै नेपालको सुदुरपश्चिममा २ वटा अक्सिजन मेसिन समेत पठाउन सफल भयौं ।’

कोभिड सहायता अभियानमा भएको सहकार्यले स्थानीय नेपाली समुदायभित्र रहेका विगतका तितोपिरो बिर्साउन मद्धत पुगेको उनको भनाइ छ । जसको फलस्वरूप अहिले एनआरएनएकै पहल र संयोजनमा स्कटल्यान्डको नेपाली समुदाय एक ढिक्का बनेको उनले सुनाए ।  

कोभिड महामारी शुरु हुनुअघि अन्य सामाजिक गतिविधिमा समेत संस्था सक्रियतापूर्वक लागेको अध्यक्ष अर्यालले बताए । ‘भारतद्वारा भएको नेपाली भूमि अतिक्रमणको विरुद्धमा स्कटल्यान्डस्थित भारतीय हाई कमिसनमा हाम्रो छुट्टै प्रदर्शन भयो । भूमि फिर्ताको मागसहित भारतीय प्रधानमन्त्री  मोदीलाई ज्ञापनपत्र समेत पठाउने काम गरेका थियौँ,’-उनले भने ।  

परिषदले नेपालबाट चर्चित कलाकारहरु समेत निम्त्याएर एक भव्य सांस्कृतिक कार्यक्रम गर्ने योजना पनि बनाएको थियो तर कोभिडका कारण स्थगित गरियो ।  

आफ्नो कार्यकालको बांकी एक वर्षमा संस्थाको छवि अझै माथि पुर्याउने गरी काम गर्ने लक्ष्य अध्यक्ष अर्यालको छ ।  

पहिलो वर्षमा काम गर्ने क्रममा आफूलाई सहयोग गर्ने एनआरएनए यूके, अन्य राज्य परिषदहरु, स्कटल्यान्डस्थित सबै नेपाली संस्थाहरु, स्कटल्यान्ड राज्य परिषदको सिंगो कार्यसमितिसहित एनआरएनए यूकेका सबै अग्रज अभियन्ताप्रति उनले आभार प्रकट गर्दै भावी दिनमा पनि साथ, सहयोगको अपेक्षा गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू