शनिबार, वैशाख ८, २०८१
05:56 | १०:४१

नेपालमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री परीक्षण गर्ने यन्त्र तयार

नाष्टले सो यन्त्रलाई ‘प्रोटेक्टिभ क्लोथिङ पेनिट्रेसन टेस्ट डिभाइस’ नाम दिएको छ

रासस सेप्टेम्बर २३, २०२०

ललितपुर । नेपालमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पीपीइलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले बजारमा पाइने थरिथरिका पीपीइलगायत मास्कको गुणस्तर पहिचान गर्न उक्त प्रविधि निर्माण गरेको हो ।

कोरोना महामारी आउनुअघि यी सामग्री परीक्षण गर्ने यन्त्र नरहेको र आफूहरुले पहिलो पटक नेपाल गुणस्तर तथा नापतौल विभागको मान्यतानुरुप सो यन्त्र निर्माण गरेको वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले जिकिर गरे ।

उनले भने, “यसबाट हरेक पीपीइलगायत मास्कको गुणस्तर पहिचान गर्न सकिन्छ । यस यन्त्रले पीपीइ परीक्षण गर्दा १५ किलो पास्कल दबाबमा एयसटिएम १६७० अन्तर्राष्ट्रिय मान्यतानुरुप सिंथेटिक रगत छिर्छ वा छिर्दैन हेर्ने र अर्को एयसटिएम १६७१ मान्यतानुरुप रगतमा भाइरस मिसाएर पीपीइ परीक्षण गर्दा ब्याक्टेरिया अर्थात जीवाणुले कस्तो परिणाम दिन्छ यस बारेमा पनि जानकारी लिइन्छ ।”

सो यन्त्रमा ३० किलो पास्कलसम्म दबाब दिने मोटर, यसमा पीपीइमा जाने दबाब नियन्त्रण गर्ने साधन र यस यन्त्रमा शून्यदेखि १५ किलो पास्कल पुगेपछि बन्द हुने व्यवस्था गरिएको ढकालले जानकारी दिए ।

उक्त यन्त्रमा डिजिटल मिटर, सो यन्त्रलाई सञ्चालन र बन्द गर्ने स्वीच, पीपीइ च्याप्ने नमूना डिस्क तथा माथिबाट सिंथेटिक रगत हाल्ने प्वाल अनि मुनिबाट पनि पीपीइ तथा मास्क परीक्षणपछि सो रगत फाल्ने प्वाल रहेको ढकालले बताए । नाष्टले सो यन्त्रलाई ‘प्रोटेक्टिभ क्लोथिङ पेनिट्रेसन टेस्ट डिभाइस’ (पिसिटी) नाम दिएको छ ।

उक्त यन्त्रले नेपालमा बनेका मास्क तथा पीपीइलाई प्रमाणीकरण गरेर बजार प्रवर्धनका लागि सघाउने विश्वास नाष्टले लिएको छ । नाष्ट विभागसँग यन्त्रको आइएसओ मान्यता प्राप्त लिने क्रममा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू