मंगलबार, वैशाख ४, २०८१
10:46 | १५:३१

हिमचितुवा शेर्पाको निधन, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

रासस सेप्टेम्बर २१, २०२०


काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए ।

सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिमचितुवा’को बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनले सन् १९८३ देखि सगरमाथा आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए ।

आङ्रिताको आरोहण यात्रा
सन् १९४८ मा जन्मिएका आङ्िरताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलो पटक करीब २० वर्षको उमेरमा चोयु हिमाल आरोहण गरेका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।

आरोहणका क्रममै रहेका आङ्रिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानुको मुख्य कारण उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाको कोठामा बसेका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ’ भनेपछि उनी आरोहणमा नगएको परिवारको भनाइ छ ।

त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले “दरबार आउनू” भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए ।

दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताइन् ।

यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण सङ्घले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण सङ्घले मासिक रु १५ हजार दिँदै आएको छ । आङ्रिताका तीन छोरा र एक छोरी छन् । जेठो छोरा कर्साङ आरोहण पेशामै, माहिला छोरा छेवाङ दोर्जे अमेरिका र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्छन् । छोरी डोमा जोरपाटीमा छिन् । आङरिता उनै छोरीसँग बस्दै आएका थिए । उनको पत्नीको सात वर्षअघि निधन भएको थियो ।

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि
प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

“विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका आङ्रिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ । यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदा स्मरणीय रहनेछ”, प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन् ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पर्यटनमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हिमचितुवा’ शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पणका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू