शनिबार, वैशाख १५, २०८१
23:46 | ०४:३१

लाखौंमा मानपदवी पाउने यी तीन भाग्यमानी !

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२०

लन्डन । संविधान तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरिएको सुप्रबल जनसेवाश्री विभूषणबाट बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी (दुवसु क्षेत्री) र व्यवसायी एवं समाजसेवी रवीजंग लामिछाने  विभूषित भएका छन् ।

यसैगरी कीर्तिमानी पर्वातारोही निर्मल पुर्जा पनि कीर्तिमय राष्ट्रदीप चतुर्थ पदकबाट विभूषित भएका छन् । संविधान दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीबाट ५ सय ९४ जनालाई विभूषण घोषणा गरिएको छ । करिब २ लाख नेपाली रहेको बेलायतमा महत्वपूर्ण मानपदवी पाउने सम्भवतः उनीहरु मात्र हुन् ।

डा. दुर्गा बहादुर सुवेदी (दुवसु क्षेत्री)- सुप्रवल जनसेवाश्री 

सन् २००१६ को अन्तबाट बेलायतको २० औं राजदूतको रुपमा कार्यभार सम्हालेका राजदूत डा  सुवेदी सुप्रबल जनसेवाश्री विभूषणबाट विभूषित भएका छन् । सुवेदीले बेलायतको आर्थिक, सामाजिक, कूटनीतिक र प्रशासनिक लगायत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

सुवेदी एक राजदूतको रुपमा मात्र नभएर एक स्रष्टा र साहित्यानुरागी व्यक्तिका रुपमा पनि बेलायतको नेपाली डायस्पोरासंग सामिप्यमा रहेर नेपाल र नेपालीको परिचय, पहिचान एवं प्रतिष्ठा बढाउने प्राज्ञिक, वौद्धिक, साहित्यिक र सांस्कृतिक क्रियाकलापहरुमा सदैव संलग्न रहँदै आएका छन्  ।

बेलायतमा नेपाली समाजलाई जीवन्त र गतिशील बनाउन नेपाली भाषा, कला साहित्य, संगीत, संस्कार र संस्कृति एवं पर्व र परम्पराहरुको संरक्षण, सम्वर्धन अपरिहार्य रहेकोले यसको जगेर्नामा सबै एकजुट हुनुपर्ने बताएका छन् ।

नेपाली साहित्य विकास परिषद यूकेको पदेन संरक्षक समेत रहेका राजदूत तथा वरिष्ठ साहित्यकार दुबसु क्षेत्री बेलायतमा नेपाली साहित्यलाई थप उचाईंमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्  ।

ब्रिटेन नेपालबीचको कूटनैतिक पहलमा उनको भूमिका निकै अब्बल छ । विगत लामो समय देखि चल्दै आएको भूतपूर्व गोर्खा समस्याको कूटनीतिक समाधानको पहल तथा नेपाल सरकार र ब्रिटेनबीचमा  विभिन्न उच्चस्तरीय कार्यको मध्यस्थताको भूमिका निर्वाह गरि  आपसी हित र सहयोगको भावना सृजना गर्ने काममा सुवेदीले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

राजदूत सुवेदीकै कार्यकालमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पररास्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत दुइ देशबीच उच्चस्तरीय भ्रमण र वार्ताहरु सम्पन्न भए । नेपालको क्रिकेट टोलीले दुई पटक बेलायतमा आएर क्रिकेट खेलेका थिए ।

पछिल्लो समयमा अन्य धेरै महत्वपूर्ण योजना कोभिड १९ का कारण अधुरा रहन पुगे । नेपालका विभिन्न नगरपालिकासँग भगिनी सम्बन्ध जोडेर देशको तल्लो निकायसम्म सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका  निर्वाह गरे ।

समाजसेवी एवं व्यवसायी रवीजंग लामिछाने – सुप्रवल जनसेवाश्री

बेलायतमा बसेर निस्वार्थ भावनाले देश र जनताप्रति समर्पित लण्डनका एक सफल व्यवसायी एवं सामाजसेवी रवीजंग लामिछाने सुप्रवल जनसेवाश्री विभूषणबाट  विभूषित भएका छन् । उनले नेपालको धार्मिक, संस्कृतिक काममा मात्र नभई सरकारलाई अप्ठेरो पर्दा समेत सहयोग गर्दै आएका छन् ।

लामिछानेले नेपाल र बेलायतस्थित नेपाली समुदायका लागि निरन्तर सहयोग गर्दै आएका छन् । लामिछानेले केही साता अघिमात्र नेपालमा ‘कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी सरकारी कोष’ मा १५ लाख १७ हजार ७ सय २७ रुपैयाँ सहयोग गरेका थिए । २०७२ सालको भूकम्पको बेला पनि उनले ५१ लाख रुपैयाँ सहयोग गरेका थिए ।

नेपालमा मात्र नभएर उनले बेलायतको स्थानीय क्षेत्रमा पनि उत्तिकै सहयोग पुर्याउंदै आएका छन् । बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिरका लागि पनि सबैभन्दा बढी करिब २१ लाख रुपैयाँ चन्दा दिएका थिए । नेपालमा दर्जनौं बालबालिकाको पठनपाठनमा सहयोग पुर्याउंदै आएका छन् । यस सम्मानबाट आफूलाई राष्ट्रसेवामा थप प्रेरित गरेको र देशप्रति आफ्नो दशकौं लामो निस्वार्थ योगदान नै यस पदकको प्रतिफल भएको लामिछानेले बताए ।

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा – कीर्तिमय राष्ट्रदीप चतुर्थ पदक

पूर्व गोर्खा तथा कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा कीर्तिमय राष्ट्रदीप चतुर्थ पदकबाट विभूषित भएका छन् । पुर्जाले विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल सात महिनामै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । उनले आरोहण गरेका ८ वटा हिमाल नेपालमै पर्दछन् भने अन्य हिमाल पाकिस्तान र चीनमा ।

उनले धौलागिरी हिमाल अक्सिजनविना नै आरोहण गरेका थिए । छोटो समयमा हिमाल आरोहण गरि विश्व कीर्तिमानी कायम गरेका पुर्जाले आरोहणका क्रममा अलपत्र परेका थुप्रै आरोहीहरुलाई उद्धार समेत गरेका छन् ।

सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबीई प्रदान गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू