बिहीबार, वैशाख १३, २०८१
06:17 | ११:०२

लण्डनका सफल व्यवसायी लामिछानेलाई सुप्रवल जनसेवा श्री तृतीय

बेलायतका लागि नेपाली राजदूत डा. सुवेदी र आरोही निर्मल पुर्जा पनि विभूषित

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२०

व्यवसायी लामिछाने

लण्डन । निस्वार्थ भावनाले देश र जनताप्रति समर्पित एकजना लण्डनका सफल व्यवसायी रवीजंग लामिछाने राष्ट्रपति विद्या भण्डारीबाट सुप्रवल जनसेवा श्री तृतीयले विभूषित भएका छन् ।

संविधान दिवसका अवसर पारेर लामिछानेलाई विभूषित गर्ने घोषणा गरिएको हो । व्यवसायी लामिछानेले सम्मानले आफूलाई राष्ट्रसेवामा थप प्रेरित गरेको बताउंदै देशप्रति आफ्नो दशकौं लामो निस्वार्थ योगदान यस पदकको प्रतिफल भएको बताए ।

लामिछानेले नेपाल र बेलायतस्थित नेपाली समुदायका लागि निरन्तर सहयोग गर्दै आएका छन् । लामिछानेले केही साता अघिमात्र ‘कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी सरकारी कोष’ मा १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका थिए । २०७२ सालको भूकम्पको बेला पनि उनले ५१ लाख रुपैयाँ सहयोग गरेका थिए ।

लामिछानेले बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिरका लागि पनि सबैभन्दा बढी करिब २१ लाख रुपैयाँ चन्दा दिएका थिए । नेपालमा दर्जनौं बालबालिकाको पठनपाठनमा सहयोग गरिरहेका उनका सहयोगको लिष्ट लामो छ ।

यसैबीच, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी सुप्रवल जनसेवा श्री तृतीय र विश्व कीर्तिमान राख्ने आरोही निर्मल पुर्जा कीर्तिमय राष्ट्रदीप चतुर्थबाट विभूषित भएको घोषणा गरिएको छ । पुर्जाले ८ हजार माथिका विश्वका १४ वटै हिमाल सबैभन्दा छिटो आरोहण गरेर गत वर्ष कीर्तिमान कायम गरेका थिए ।

लन्डनस्थित नेपाली दूतावासले राष्ट्रिय दिवस, २०७७ को शुभ उपलक्ष्यमा संयुक्त अधिराज्य (बेलायत) का लागि नेपाली राजदूत डा. सुवेदी राष्ट्रपतिबाट सुप्रवल जनसेवाश्री विभूषणबाट विभूषित भएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू