शनिबार, वैशाख १५, २०८१
05:44 | १०:२९

संयुक्त राष्ट्रसंघको महासभा भर्चुअल हुने

विश्वका १७४ नेताले सम्बोधन गर्ने

रासस-एएनआई सेप्टेम्बर १८, २०२०


न्यूयोर्क  । संयुक्त राष्ट्रसंघको अर्को हप्ता हुने महासभालाई विश्वका १७४ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोभिड १९ को संक्रमण विश्वमा नै नरोकिएका कारण यस वर्षको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

राष्ट्रसंघका सदस्य राष्ट्रका ११९ जना राज्य प्रमुखका साथै अरु ५४ जना सरकार प्रमुखहरुले सो सभालाई भर्चुअल विधिबाट नै सम्बोधन गर्न लागेका बताइएको हो । महासभा संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो निकाय हो । यो निकायको सम्मेलन यस पटक कोभिड १९ को संक्रमणका कारण यसरी भर्चुअल विधिबाट हुन लागेको बताइएको छ ।

 महासभाका लागि प्रवक्ता ब्रेन्दन बर्माले बिहीबारसम्ममा १७४ जना विश्वका नेताहरुले महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा विश्वका देशका प्रतिनिधिहरु पुगिसकेका छन् । सदस्य राष्ट्रका नेताहरुले आफूले गर्ने सम्बोधनको रेकर्ड गरिएको प्रति पहिले नै उपलब्ध गराउने छन् र आआफ्नो देशको पालो अनुसार उनीहरुको सो सम्बोधन प्रस्तुत गरिने छ ।

पहिलेका वर्षहरुमा करिब १०० वटा देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम रहेकोमा यस पटक भने भर्चुअल विधिबाटै गरिने भएकोले सो संख्या धेरै हुन पुगेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू