शुक्रबार, चैत १६, २०८०
19:18 | ०१:०३

जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित

रासस–एएनआई सेप्टेम्बर १६, २०२०

टोकियो, ३१ भदौ-– जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले बुधबार पदभार लिनु भएको छ । उहाँले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गर्नु भएको छ । अर्थमन्त्री तारो एसो, परराष्ट्र मन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका अन्य मन्त्रीहरुलाई यथावत् राखिएको छ ।

मन्त्रिपरिषद्का २० सदस्यमध्ये १५ जना तत्कालीन प्रधानमन्त्री शिन्जो आबेकै मन्त्रिपरिषदका सदस्यहरु हुनुहुन्छ । नयाँ मन्त्रिपरिषदमा न्यायमन्त्री योको कामिकावा र ओलम्पिक र प्यारा ओलम्पिक मन्त्री सेको हाशिमोतो दुई महिला मात्र छन् । जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोलाई मन्त्रिपरिषदको मुख्य सचिवको जिम्मेवारी दिइएको छ । जापानमा मुख्य सचिवले नीति समन्वयक र सरकारका शीर्ष प्रवक्ता दुबैको भूमिका खेल्दछन् ।

यसैबीच, पूर्व प्रधानमन्त्री शिन्जो आबेका कान्छा भाइ एवं पूर्व उप विदेशमन्त्री नोबुओ किशीलाई नवगठित मन्त्रिपरिषदमा रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ ।

पूर्व प्रधानमन्त्री आबेको मन्त्रिपरिषदका सबै सदस्यले बुधबार बिहान सामूहिक राजीनामा दिएका थिए । आबेले पछिल्लो महिना स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामाको घोषणा गर्नु भएको थियो ।

नवनिर्वाचित प्रधानमन्त्री सुगा नाताले जापानस्थित सफल नेपाली व्यवसायी एवम् एनआरएनए निवर्तमान अध्यक्ष भवन भट्टका काका ससुरा तथा श्रीमती मियको भट्टका काका हुन् ।

सुगा प्रधानमन्त्री चयन भएपछि भवन भट्टले फेसबुक स्टाटसमा लेखेका छन् ‘जापानका नवनियुक्त ९९ औं प्रधानमन्त्री माननीय सुगालाई बधाई छ । सफल कार्यकालको शुभकामना, नेपाल र जापानबीचको द्वीपक्षीय सम्बन्धलाई तपाईंको कार्यकालमा अझ मजबुत हुनेछ, दुई देश र जनताको आपसी हितमा सहयोग पुग्नेछ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू