बिहीबार, कार्तिक ४, २०७८
15:36 | २०:२१

निषेधाज्ञाका कारण मौलायो करेसाबारी र कौसीखेती

रासस सेप्टेम्बर २, २०२०

फोटो आर्थिकन्यूज

भरतपुर । कोरोना सङ्क्रमण फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञाले घरघरमा तरकारीखेती गर्न प्रोत्साहन मिलेको छ । खाली समय र खाली जमिनको सदुपयोग गर्दै घरघरमा तरकारी खेती गर्न लागिएको हो ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । निषेधाज्ञा कति लम्बिने हो पत्तो छैन । यतिबेला कृषि कर्मबाहेकका सबै रोजगारी र व्यवसायका ढोका बन्द अवस्थामा छन् ।

खेतीयोग्य जमिन शहरमा ज्यादै कम छ । जमिनमा घर फलेका छन् तर सबै घरमा कौसी र छत छँदैछन् । हरेक कौसीमा तरकारीलगायत घरका लागि उपयोगमा आउने हरेक प्रकारका तरकारी फलाउन घरमै थुनिएका भरतपुरवासी व्यस्त छन् । अन्य काममा जान नपाएपछि करेसाबारीसँगै घर छेउछाउका बाँझा जग्गा खनेर तरकारी रोप्ने उनीहरुको दिनचर्या बनेको छ ।

भरतपुरको शहरी क्षेत्रमा धान फल्ने फाँटमा घर भरिएका छन् । खेती गर्ने जमिन खासै छैन । कौसी हराभार हुने, आफ्नो घरबारीमा हरियाली देख्न पाइने र आफ्नै बारीको तरकारी टिपेर खान पाइने भएका कारण करेसाबारी र कौसीखेतीमा नागरिकको आकर्षण बढेको हो ।

भरतपुर–१२ की अनिता आचार्य आफ्नो अफिस नियमित नभएपछि तरकारी लगाउन व्यस्त रहेकी छिन् । आफ्नो जग्गा नभए पनि घर छेउको खाली जमिनमा तरकारी लगाएको उनले बताइन् । यतिबेला साग, मुला, धनियाँ, खुर्सानीलगायतका तरकारी लगाएको उनले बताइन् । आफ्नो जग्गा नहुनेले पनि खाली र बाँझो जमिनमा खेती गरिरहेका छन् ।

भरतपुर–११ की चन्द्रमाया पाण्डेले घरको उत्पादनले आफूलाई खुशी मिलेको बताइन् । शहरी क्षेत्रमा बालबच्चालाई फल फलेको देखाउनु पनि ठूलो कुरा हुन थालेको उनले बताइन् । “घरमै तरकारी फलाउँदा आर्थिक बचत भएको छ । बारीमा काम गर्न पाउँदा शरीर स्वस्थ भएको छ”, उनले भनिन्, “चार जनाको परिवारले तरकारीमा दिनको १०० मात्र खर्चिंदा पनि वर्षमा हजारौँ रुपैयाँ खर्च भइरहेको हुन्छ ।” निषेधाज्ञाले बजार बन्द छ ।
आफ्नै बारीमा उत्पादन भएको ताजा र हरियो तरकारी खान पाइएको भरतपुर–२ की यमकली क्षेत्रीले बताइन् । “यसअघि दैनिक तरकारी किन्नुपर्ने अवस्था थियो । अहिले त्यो अन्त्य भएको छ । कहिलेकाहीँ मात्र किन्ने गरेको छु”, उनले भनिन्, “पहिले किनेर खाने गरेका थियौँ, अहिले आफैँ घरमा गर्नुपर्छ भन्ने लाग्यो ।”
केही वर्षअघि बाँझो रहेको जग्गा यतिबेला तरकारी खेतीले हरियाली भएको उनले बताइन् । आफ्नो टोलका सबैले घरमै तरकारी लगाइरहेको उनले बताइन् ।

भरतपुरमा करेसाबारी र कौसीखेतीको अभियान शुरु गरेको प्रदेशसभा सांसद विजय सुवेदीले अभियानले स्थानीयलाई तरकारीमा आत्मनिर्भर बनाएको बताए । उनले थोरै जग्गामा पनि आफूलाई पुग्ने तरकारी सबैले गर्न सक्ने सुझाव दिए । “जग्गा नभएका स्थानीयले पनि कौसीमा तरकारी फलाउन सक्छन् । घर अगाडिको खुला भागमा पनि तरकारीखेती गर्न सकिन्छ”, उनले भने, “आफ्नो निर्वाचन क्षेत्रका नागरिक सबैको घरघरमा तरकारी फलेको देख्ने आफ्नो इच्छा छ ।”

उनले आँफैं पनि घरमा कौसी र करसाबारी खेती गर्दै आएका छन् । “भारतबाट आयातित तरकारीले नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ । परनिर्भरता बढाएको छ”, उनले भने, “त्यसको अन्त्य गर्न करेसाबारी र कौसीखेती प्रभावकारी बन्दै गएको छ ।” यो अभियानलाई निरन्तरता दिनसके एक-दुई वर्षमा भरतपुरवासीले बाहिरको तरकारी किन्नु नपर्ने उनको भनाइ छ ।

अहिले भरतपुरका जग्गा खाली देखिँदैन । आफैं तरकारी फलाउने बानीको समेत विकास भइरहेको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले करेसाबारी र कौसीखेतीका लागि कार्यालयले प्रोत्साहन गरिरहेको बताए । ”हामीले जैविक मलमा प्रोत्साहन गरिरहेका छौँ, यसरी तयार गरिएको मलले तरकारीमा किरा लाग्दैन” उनले भने, “जैविक मल आफैँ बनाउन सकिन्छ । यसले मल र विषादीको काम गर्छ, यसरी उत्पादन गरेको तरकारी पूर्ण स्वास्थ्यकर हुन्छ ।”

करेसाबारी र कौसीखेतीका कारण ताजा र स्वास्थ्यकर तरकारी घरमै उपभोग गर्न पाउने उनले बताए । “कोभिडको महामारीको समयमा यो खेती झन आवश्यक छ”, उनले भने, “घरमै फलाउनसके बजारको भीडभाडमा गइरहनु पर्दैन ।”

भरतपुरवासीले घरमै कौसी खेती गर्ने हो भने यसले हरेक घरमा अधिकतम तरकारीको माग पूरा गर्न सक्छ । यसले घरघरमा विषादीरहित तरकारी उत्पादन, पैसा बचत र वातावरणमा पनि राम्रो असर पुरयाउँछ ।

कोरोना महामारीमा धेरै जनाले छोएको तरकारी किन्नुपर्ने, भिडभाडमा जानुपर्ने जस्ता कारणले सङ्क्रमणको सम्भावना बढी हुन्छ । आफ्नै तरकारी उत्पादन गर्नसक्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न त सकिन्छ नै स्वस्थ तरकारी खाँदा अन्य रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू