शनिबार, वैशाख ८, २०८१
08:53 | १३:३८

ब्रिटिस आर्मीमा यो वर्ष भर्ती संख्या घट्ने

ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० मात्र भर्ती गरिने

नेपाली लिङ्क सेप्टेम्बर १, २०२०

लन्डन । बेलायत सरकारले कोरोना भाइरस महामारीको कारण देखाउँदै ब्रिगेड अफ गोर्खाजमा भर्ती संख्या घटाउने तयारी गरेको छ । ब्रिटिस आर्मी मुख्यालयले मंगलबार आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रतिस्पर्धी नेपाली युवालाई सो जानकारी दिएको हो । यसपटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर्ने जनाइएको छ ।

गत वर्ष ब्रिटिस आर्मीमा ४ सय ३२ र सिंगापुर पुलिसमा २ सय २० भर्ती लिइएको थियो । कोरोना महामारी फैलिएपछि गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिइने मुख्यालयले यसअघि बताइसकेको छ ।

‘ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसका सम्भावित रेक्रुटहरू, कोरोना भाइरसको अवस्था नेपालमा मात्र नभएर संसारभरि नै अनिश्चित छ’- ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइटमा भनेको छ, ‘जसले गर्दा हाम्रो छनोट प्रक्रियामा बाधा हुन सक्ने सम्भावना छ । अति नै संकटकालीन अवस्था आइपरेमा यो वर्षको छनोट नहुन पनि सक्छ । तर छनोट भएमा हामी सक्दो सुरक्षित ढंगबाट यो छनोट प्रक्रियालाई सञ्चालन गर्ने प्रयास गर्नेछौं ।’

छनोटका निम्ति ब्रिटिस आर्मीका लागि ५ सय ६० जना सम्भावित रेक्रुटलाई बोलाएर तीमध्ये ३ सय ४० जना र सिंगापुर पुलिसका लागि २ सय १० जना सम्भावित रेक्रुटलाई बोलाएर त्यसमध्येबाट १ सय ४० जना छनोट गर्ने छनोट गर्ने सूचनामा छ ।

सूचना जस्ताको तस्तैः

ब्रिटिश गोर्खा आर्मी र सिंगापुर पुलिसका सम्भावित रेक्रुटहरु,

RI 21 को केन्द्रिय छनौटका लागि कल फरवार्ड लिस्ट र सूचनाहरु मुनी दिए अनुसार हेर्नुहोला । साथै यी तल सूचित गरिएका सूचनाहरु ख्याल राख्नुहोला ।

-कोरोना भाइरसको अवस्था नेपालमा मात्र नभएर संसार भरिनै अनिश्चित छ । जसले गर्दा हाम्रो छनौट प्रक्रियामा बाधा हुन सक्ने सम्भावना छ । अति नै संकटकालिन अवस्था आइपरेमा यो बर्षको छनौट नहुन पनि सक्छ । तर, छनौट भएमा हामी सक्दो सुरक्षित ढंगबाट यो छनौट प्रक्रियालाई सन्चालन गर्ने प्रयास गर्नेछौं ।

-ब्रिटिश आर्मीको लागि ५६० जना सम्भावित रेक्रुटहरुलाई बोलाउनेछौं । जसमध्येबाट ३४० जनालाई छनौट गर्नेछौं ।

-सिंगापुर पुलिसका लागि २१० जना सम्भावित रेक्रुटहरुलाई बोलाउनेछौं । जसमध्येबाट १४० जनालाई छनौट गर्नेछौं ।

छनौट प्रक्रियाका परीक्षाहरु मध्यबाट मेडिकल, एजुकेसनल र इन्टरभ्यू RI 20 को जस्तै हुन सक्ने सम्भावना छ । त्यसकारण तपाईंहरुले हाम्रो वेवसाइटमा भएका विषयबस्तुहरु पढेर तयार हुन सक्नुहुनेछ । अरु केहि शिक्षण सामाग्रीहरु तपाईंहरुको तयारीका लागि आउंदा दिनहरुमा हामी पुनः वेवसाइटमा लगाइदिनेछौं ।

कोरोना भाइरस संक्रमण अवस्थाको आधारमा हामी शारिरिक परीक्षाहरु निर्धारित गर्नेछैं । जतिसक्दो चाँडो हामी यसको जानकारी र नमूना भिडियो वेवसाइटमा लगाइदिनेछैं । यो जानकारी अक्टोबर १ भन्दा अगाडि सम्भब छैन् र त्यो भन्दा पछि पनि हुन सक्नेछ । तपाईंहरुले हाम्रो वेवसाइट साथै बि.जि.एन. को फेसबुक हेर्दै गर्नुहोला । यसको साथसाथै छनौट प्रक्रियामा उच्च प्रदर्शन दिनका निम्ति तपाईंहरु शारिरीक अनि मानसिक तवरले तन्दुरुस्त हुन अति आवश्यक छ ।

-हामी तपाईंहरुलाई थोरै संख्याको समूहमा बोलाउनेछैं अनि तपाईंहरुलाई क्वारेन्टिन क्याम्पमा राख्नु परेमा राखिने छ । तपाईंहरु कहिले र कहाँ आउनुपर्ने जानकारी डिसेम्बर महिनाको १० तारिखपछि वेवसाइटमार्फत जानकारी दिनेछौं ।

-सेलेक्सन आउनु अगाडि तपाईंहरुलाई कोरोना भाइरस संक्रमणबाट जोगिनुहोस् भन्ने सुझाब दिन्छौं । तपाईंहरु सँधै सामाजिक दुरी कायम राख्नुहोस्, कुनै पनि भेलामा संलग्न नहुनुहोस् र सधैं मास्कको प्रयोग गर्नुहोस् । हामी तपाईंहरुको आगमनमा पि.सि.आर. टेस्ट लिनेछौं । यदि तपाईंको टेस्ट पोजिटिभ आएमा अथवा तपाईंमा कोरोना भाइरसको लक्षण देखिएमा तपाईं गोर्खा भर्ती छनौट प्रक्रियाबाट स्वत बाहिरिनु हुनेछ ।

-विगतका वर्षहरुमा जस्तो यो वर्ष सफलता प्राप्त गरेकाहरुका लागि पारिवारिक भेटघाट कार्यक्रम हुने सम्भावना एकदम कम छ । त्यसैले तपाईंहरुको परिवारलाई जानकारी दिनुहोस् कि यदि छनौट भएमा परिवारसंग भेट हुन करिव १ वर्षसम्म सम्भव छैन् । तर, हामी टेलिफोन र भिडियो कल मार्फत परिवारसंग सम्पर्क गराउनेछौं ।

-कृपया छनौटका लागि कसैलाई पैसा नदिनुहोस् । ब्रिटिश गोर्खा आर्मी र सिंगापुर पुलिसको छनौट प्रक्रिया निशुल्क, निष्पक्ष र पारदर्शीताका साथ हुन्छ । यो कुरा तपाईंहरुको अभिभावकहरुलाई पनि जानकारी दिनुहोला । यदि कसैले भ्रष्टाचार गरेको थाहा पाएमा प्रमाणका साथ डि.आ. ओ. लाई [email protected] मा इमेल गरी जानकारी दिनुहोला । तपाईंहरुको लागि भरपर्दो सूचनाको स्रोत भनेको हाम्रो वेवसाइट र तपाईंहरुको स्थानीय रेक्रुटिंग (एस.आर.ए.) कर्मचारी हुन् । त्यसकारण अरु कसैको झुटो आश्वासनलाई विश्वास नगर्नुहोला ।

RI 21 को केन्द्रिय छनौटको बारेमा कुनै पनि जिज्ञासा भएमा [email protected] मा इमेल गरि सम्पर्क गर्नु होला । शुभकामना !

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू