शुक्रबार, चैत १६, २०८०
12:49 | १८:३४

नेपालका लागि बेलायतका पूर्व राजदूत मोरिसको शव फेला

मोरिस गत मे ६ बिहान १०.३० बजे दौड्न घरबाट निस्किएपछि बेपत्ता थिए

नेपाली लिङ्क अगस्ट ३१, २०२०

लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । बीबीसीका अनुसार गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको हो ।

प्रहरीले उनको निधनलाई शंकास्पद मानेको छैन् । उक्त शवको सनाखत भइसकेको छैन् तर प्रहरीले उनको परिवारलाई अवगत गराइसकेको छ ।

बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान १०.३० बजे दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।

स्थानीय जंगल, नदी किनाराका व्यापक खोजी गरेको प्रहरीले छरछिमेकका वासिन्दाहरुलाई आआफ्ना घरका बगैंचा, भण्डार गृह, शेड आदि चेक गर्न आग्रह पनि गरेको थियो । कुनै स्थानीय वासिन्दा वा व्यवसायसंग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको थियो ।

मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिश राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । ब्रिटिश सरकारले उनलाई फिजी गणतन्त्रका लागि जुलाइ महिनादेखि कार्यभार सम्हाल्ने गरि उच्चायुक्त तोकेको थियो ।

उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको बताइएको छ ।

नेपाललाई औधि माया गर्ने रिचर्डले नेपालमा महाभूकम्पपछि गएका बेलायती राजकुमार हयारीको भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । विशेष गरि ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स प्रतिनिधिसंग निकट थिए मोरिस ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू