बिहीबार, वैशाख ६, २०८१
04:56 | ०९:४१

लन्डन दूतावासका ‘प्रिय’ कूटनीतिज्ञ नेपाल फर्किए

विदाइ गर्न राजदूतसहित दूतावास परिवार विमानस्थल पुगेका थिए

नेपाली लिङ्क अगस्ट २७, २०२०

शरदराज आरन

लन्डन । लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन आफ्नो चार वर्षे कार्यकाल सकेर बिहीबार दिउसो नेपाल फर्किएका छन् । दिउसो २.४० बजे कतार एयरवेजमार्फत हिथ्रो टर्मिनल ५ बाट आरन परिवारसहित नेपाल फर्किएका हुन् ।

उनलाई विदाइ गर्न राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित दूतावास परिवार विमानस्थल पुगेको थियो । ‘कोभिड १९’ महामारीका कारण दूतावासमा उनको औपचारिक विदाइ कार्यक्रम भने भएन ।

सन् २०१६ मा तेजबहादुर क्षेत्रीको ठाउंमा जिम्मेवारी सम्हाल्न लन्डन दूतावास आएका थिए आरन । दूतावासमा टिममा रहेर काम गर्न सक्ने खालका थिए उनी । आरन बेलायतको नेपाली समुदायमा ‘प्रिय’ कूटनीतिज्ञ मानिन्थे । संगत गर्नेहरु उनलाई ‘सहयोगी’ र ‘आंखामा राखे पनि नबिझाउने’ भनि प्रशंसा गर्ने गर्दछन् ।

नेपालीका जस्तो सुकै समस्यामा जुन बेला पनि फोन उठाएर सहयोग गर्ने आरनले बेलायत रहंदा भूतपूर्व गोर्खा मुद्दामा संयोजनकारी भूमिका निर्वाह गरे भने बेलायत र नेपालबीच विकास, व्यापार साझेदारी अभिवृद्धि र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन राजदूतको ‘ब्याकबोन’ का रुपमा रहेर काम गरे । दूतावासको प्रवक्ता समेत रहेका आरन ‘मिडिया फ्रेण्ड्ली’ थिए । उनले जस्तो सुकै परिस्थितिमा पनि सूचना प्रवाह गर्न कन्जुस गरेनन् ।

‘कोभिड १९’ महामारीका बेला बेलायतमा रहेका नेपाली र नेपालबाट अध्ययनका लागि आएका विद्यार्थी अनि अन्य प्रयोजनमा आएका नेपालीलाई सघाउन उनको अहंम भूमिका थियो । आरनले बेलायतमामात्र नभइ माल्टा र आयरल्याण्डमा आफैं गएर त्यहां अध्ययन र रोजगारीको सिलसिलामा पुगेका नेपालीका समस्या र समाधानबारे सम्बन्धित सरकारी पदाधिकारीहरुलाई अवगत गराइ समस्या निराकरणमा ‘सहजीकरण’ गरेका थिए ।

उनको केही महिनाअघि कार्यकाल सकिएपनि कोभिड १९ का कारण उडान नहुंदा र अन्य परिस्थितिले फर्कने समय थप भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू