शनिबार, वैशाख ८, २०८१
11:19 | १६:०४

बेलायतका बालबालिकालाई घरभन्दा स्कुल सुरक्षित

लामो समय विद्यालय नपठाउंदा बालबालिकामा मानसिक तथा शैक्षिक असर

नेपाली लिङ्क अगस्ट २४, २०२०

लन्डन । लन्डन फेल्थामस्थित रिभर्स एकेडेमीमा इयर ७ का छात्र बेन्सन क्षेत्री मार्चयता स्कुल गएका छैनन् । बेलायत सरकारले कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन गरेयता ब्रिटेनमा स्कुल बन्द हुंदा १३ वर्षीय बेन्सनको दैनिकी अहिले घरैमा खेलेर बितेको छ ।

उनले सेप्टेम्बरदेखि इयर ८ को पढाइ शुरु गर्नेछन् । सरकारले आगामी सेप्टेम्बरबाट स्कुल सञ्चालन गर्ने खबरले बेन्सनका अभिभावक भने खुशी छन् । ‘स्कुल खोल्ने सरकारको निर्णयलाई सकारात्मक लिएका छौं’, बेन्सनकी आमा बिनिता खड्का बस्नेतले भनिन्, ‘कोरोना संक्रमणको प्रभाव केटाकेटीहरुमा खासै नदेखिएको भनेका छन् । त्यसैले घर बस्न भन्दा स्कुल जांदा नै फाइदा छ ।’

घरमा हुंदा बालबालिकालाई सुत्ने, उठ्ने, खाने, खेल्ने, पढ्ने रुटिन अनियमित छ । कम्प्युटर, टिभीमा बढी समय खेर जांदा भविष्य अन्धकार हुने भएकाले स्कुल पठाउंदा नै बढी फाइदा देख्छिन् बिनिता ।

संयुक्त अधिराज्यको इंग्ल्याण्ड, वेल्स् र नर्दन आयरल्याण्डका लाखौं बालबालिका सेप्टेम्बरदेखि पूर्णकालिन अध्ययनका लागि स्कुल फर्कने तयारीमा 
छन् । स्कटल्याण्डमा भने स्कुल सुचारु भइसकेको छ ।

लामो समय विद्यालय नपठाउंदा बालबालिकामा मानसिक तथा शैक्षिक असर पर्नेतर्फ ब्रिटेनका स्वास्थ्य सल्लाहकारहरुले ध्यानाकर्षण गराएका छन् ।

बेलायतको चारवटै राज्यका प्रमुख स्वास्थ्य सल्लाहकारहरुले एउटा संयुक्त विज्ञप्ति निकालेर बालबालिकालाई शिक्षाबाट वञ्चित गरिनु कोभिड १९ प्रकोपले भन्दा बढी घातक हुने औंल्याएका छन् ।

बेलायत सरकारका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिस ह्वीटीले पनि बालबालिकालाई स्कुल नपठाउनु भाइरस भन्दा बढी घातक हुनेमा जोड दिएका छन् । उनका भनाइमा बालबालिकामा कोरोना भाइरसले ज्यान गुमाउने सम्भावना धेरै कम छ तर पठनपाठन नहुंदा भविष्यमा हुने क्षति उच्च छ ।

कोभिड १९ कम्तीमा ९ महिना चुनौतिपूर्ण हुने प्राध्यापक ह्वीटीको बुझाइ छ । उनले सन् २०२० मा कोभिड खोप विकासको सम्भावना न्यून रहेपनि अर्को वर्ष हुने आधार धेरै रहेका बताए ।

प्रधानमन्त्री बोरिस जोन्सनले पनि बालबालिकालाई कोरोना भाइरसले भन्दा स्कुल नपठाउंदा उनीहरुको शैक्षिक तथा मानसिक क्षति बढि हुने धारणा राख्दै आएका छन् । बालबालिकालाई विद्यालय पठाउनु अभिभावकहरुको नैतिक दायित्व हुने पनि उनको जोड छ ।

शिक्षक युनियनले पनि विद्यालय सुरक्षित तवरले सुचारु गर्न जोड दिएको छ । विद्यार्थी र कर्मचारीको स्वास्थ्य प्राथमिकतालाई मध्यनजर गर्दै युनियनका महासचिव डा. प्याट्रिक रोचले सरकारले सुरक्षा निगरानीसहित प्रभावकारी जोखिम नियन्त्रण प्रणाली लागू गरेर स्कुल खोल्न सुझाएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, कोभिड १९ का कारण गत मार्च देखि जुनसम्म इंग्ल्याण्ड र वेल्स्मा १९ वर्ष मुनीका १० जनाको मात्र निधन भयो । भाइरसबाट मृत्यु भएका बालबालिका अधिकांशलाई दीर्घरोग थियो । तर, २० वर्ष देखि माथि निधन हुनेको संख्या ४६ हजार ७ सय २५ छ ।

इंग्ल्याण्डमा गत जुनमा प्रि स्कुल र प्राइमरी स्कुल गएका दश लाख भन्दा बढि बालबालिकामध्ये ७० जना र एकसय २८ जना स्कुल कर्मचारीमात्र संक्रमित भएको पब्लिक हेल्थ इंग्ल्याण्डको एउटा नयां अध्ययनले देखाएको छ ।

उक्त समयमा ३० वटा संक्रमण कर्मचारीबाट कर्मचारीमै र विद्यार्थीमा भएको पाइएको छ । तर, विद्यार्थीबाट विद्यार्थीमा संक्रमण दुईजनामा मात्र भएको थियो ।

उक्त अध्ययनमा जुनसम्म स्कुल गएका बालबालिकालाई स्कुल भन्दा घरमा कोरोना भाइरस संक्रमणको खतरा बढि रहेको औंल्याइएको छ ।

सरकारले अभिभावकलाई आफ्ना सन्तान स्कुल पठाउन प्रेरित गर्ने एउटा अभियान पनि शुरु गरेको छ । उसको ‘ब्याक टु स्कुल सेफ्ली’ अभियानमा संक्रमण रोक्न सरकारले विभिन्न कदम चालेको विश्वास दिलाइएको छ । पत्रपत्रिका, डिजिटल प्लेटफर्म, रेडियो, बिलबोर्ड विज्ञापनमार्फत बालबालिकाको विकासका लागि शिक्षाको महत्व दर्शाइएको छ ।

१२ वर्षदेखि लन्डन हयाम्पटनस्थित बकिङहम प्राइमेरी स्कुलकी रिसेप्सन क्लास टिचर लक्ष्मी गुरुङको स्कुल जुन १ देखि नै सुचारु छ । सरकारले कि वर्कर र जोखिमका रहेका परिवारका बालबालिका पढ्ने स्कुल खोल्ने निर्णय गरेपछि करिब ६०० विद्यार्थी पढ्ने उक्त स्कुलमा शुरुतिर २०० मात्र बालबालिका पढ्न आए । तर, ‘सेफ्टी गाइडेन्स’ अनुशरण 
गर्दै हयाण्ड हाइजिन, सामाजिक दुरी, सरसफाइका कारण अभिभावक विश्वस्त भएर अहिले सबै विद्यार्थी आउंछन् । अहिले इयर ५ कक्षा पनि शुरु गरिएको गुरुङले बताइन् । ‘स्कुलले पूर्ण रुपमा सुरक्षा अपनाउने भएकाले बालबालिकालाई स्कुल फर्काउन जोखिम देख्दिन म । हाम्रो स्कुलमा एकजना पनि बालबालिका र कर्मचारीलाई कोरोना संक्रमण भएको छैन्’, गुरुङले भनिन् ।

बिगत १२ वर्षदेखि बकिङहमसायरस्थित ग्रेट मिसेनडेनको द मिस्बर्न स्कुलमा विज्ञानका शिक्षक डोलेन्द्र खड्का स्कुलको वातावरण अस्पताल भन्दा पनि राम्रो भएको दावी गर्छन् ।

‘हामीलाई दैनिक ब्रिफिङ हुने गर्दछ । पढाउने भन्दा पनि 
कसरी सुरक्षित रहने भन्ने मुख्य प्राथमिकता स्कुलको छ’, खड्का भन्छन् ‘आउने जाने वान वे सिस्टम लागू गरिएको छ । सामाजिक दुरी देखि आवश्यक भौतिक पूर्वाधार र सेफ गार्डिङको राम्रो व्यवस्था छ । एकजनालाई संक्रमण भएमा स्कुललाई नै असर पर्ने हुंदा धेरै सावधानी अपनाइएको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू