शुक्रबार, वैशाख ७, २०८१
07:07 | ११:५२

लन्डनस्थित नेपाली दूतावासमा शान्ति पूजा

बेलायतवासी नेपालीको सुख शान्ति र सम्वृद्धिको कामना

नेपाली लिङ्क अगस्ट ७, २०२०

लन्डन । नेपाली दूतावास लन्डनका कूटनीतिज्ञहरुले गत मंगलबार वैदिक सनातन विधि अनुसार एक धार्मिक अनुष्ठान आयोजना गरि शान्ति पूजा गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित बेलायतस्थित नेपालीहरुको शान्तिको कामना गर्दै बेलायतका ६ जना पण्डितद्वारा पञ्चांग देवताको प्राणप्रतिष्ठा एवं स्थापना गरिएको छ ।

दूतावास परिसरमा सन् १९९२, अगष्ट ३ का दिन तत्कालिन राजदूत भारतकेशर सिंहले स्थापना गरेको मन्दिरमा यो नै सबैभन्दा ठूलो धार्मिक कार्यक्रम भएको पण्डित निलहरि घिमिरेले बताए । उक्त मन्दिरका लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको तर्फबाट बर्माबाट ल्याइएको नवरत्न जडित पञ्चदेवको तस्विर ६ जना आचार्य पण्डितको उपस्थितिमा भव्य रुपमा प्राणप्रतिष्ठा गरी स्थापना गरियो ।

पञ्चांग देवताका रुपमा गणेश, दुर्गा, शिव, विष्णु र सूर्य प्रसिद्ध छन् । यी पाँच देवहरूको उपस्थितिले पञ्च तत्वमा आउने उतारचढावमा नियमितता बन्ने र घरको वास्तु स्थिर रहने हुँदा सनातन धर्मावलम्बीहरू घर घरमा स्थापन पूजा गर्ने गर्दछन् ।

समारोहमा पं निलहरि घिमिरे, आचार्य दुर्गाप्रसाद पोख्रेल, पं गोविन्द नेपाल, आचार्य नारायण पौडेल ‘गाउँले’, आचार्य शेखर काफ्ले शाण्डिल्य र पं विनोद पन्थीको उपस्थिति थियो । समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी एवं श्रीमती पुनमराज्यलक्ष्मी सुवेदीद्वारा मुख्य कर्ताका रुपमा पूजा अर्चना गरिएको थियो ।

स्वस्तिवाचनबाट शुभारम्भ गरी श्रीरुद्राभिषेक, गीतापाठ, विष्णुसहस्रनामपाठ, चण्डीपाठ, यजुर्वेद पाठपारायण, नवग्रहपूजन, हवन, भजन कीर्तन गरी प्रीति भोजका साथ कार्यक्रम समापन गरिएको थियो । राजदूत सुवेदी र श्रीमती सुवेदीले उपस्थित गुरुहरूलाई सम्मान गर्दै आभार व्यक्त गरे ।

बेलायतवासी नेपालीहरुको उपस्थितिमा गर्ने तयारी गरिएको उक्त पूजा कार्यक्रम कोरोना महामारीका कारण नेपाली दूतावास परिवारमा मात्र सिमित राखिएको थियो । ‘लगभग चार वर्षको कार्यकालमा राजदूतावासमा धेरै किसिमका कार्यक्रम सम्पन्न भए, बेलायतमा रहनुहुने सम्पूर्ण नेपालीहरुका साथ भव्य रुपमा एउटा धार्मिक अनुष्ठान गर्ने योजना अधुरै रह्यो’- बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीले भने ।

‘समय र परिस्थितिका कारण आफ्नो सपना पूरा नभएपनि दूतावास परिवारमाझ समस्त बेलायतवासी नेपालीहरुको सुख शान्ति र सम्वृद्धिको कामना गर्दै शान्ति पूजा गर्न सम्भव भएको छ, यसलाई पनि आंशिक सफलता ठानेको छु’- सुवेदीले भने ।

यस्ता खालका सांस्कृतिक, धार्मिक कार्यक्रम पनि राजदूतावासको महत्वपूर्ण कार्यक्रम रहेको र यसले नेपालको संस्कृतिको परिचय र विस्तारमा महत्वपूर्ण योगदान दिनेमा विश्वस्त रहेको सुवेदीले बताए । यस मन्दिरमा स्थापनाकालदेखि दशैं पूजा र सामान्य धुप बत्ती बाल्ने बाहेक कुनै औपचारिक पाठपूजा गरिएको थिएन । सबै तस्विरहरु- नरेन्द्र बस्नेत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू