बुधबार, वैशाख १२, २०८१
14:51 | १९:३६

बेलायतमा ११ नेपाली जेलमा

विशेषगरि अध्यागमन कानून उल्लंघन

नेपाली लिङ्क अगस्ट ५, २०२०


लन्डन । लन्डनस्थित नेपाली दूतावासले विभिन्न 
अपराधका कारण हाल बेलायतमा ११ जना नेपाली जेलमा रहेको जनाएको छ । यो डेढ महिनाअघिको 
तथ्यांक हो । विशेषगरि अध्यागमन कानून उल्लंघन (भिजा अवधिभन्दा बढि बसेका कारण) ले नेपालीलाई जेलसम्म पुरयाएको छ ।

अध्यागमन कानून उल्लंघन, हत्या, दुरव्यसनी, छलकपट (फ्रड) जस्ता क्रियाकलापका कारण नेपालीले जेल सजाय भोगिरहेको दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरनले नेपाली लिंकलाई जानकारी दिए ।

अहिले ‘डिटेन्सन सेन्टर’ मा रहेकी एक युवतीका कारण नेपाली समुदाय तरंगित छ । नेपाल फर्कन टिकट काटिसकेकी आफ्नी श्रीमति बिगत १४ महिनादेखि बेखवर भएको भन्दै श्रीमानले खोजी गरिदिन अपिल गरेपछि ति युवतीप्रति चासो बढेको हो । नेपालमा रहेका परिवार र अन्य कसैसंग पनि सम्पर्क नगरेर उनी किन गुमनाम बसिन् भन्नेबारे मानिसहरुले विभिन्न प्रश्न उठाएका छन् ।

नेपालमा रहेका उनका श्रीमान किरण भण्डारीले सोमबार सामाजिक सञ्जाल फेसबुकको ‘बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु’ पेजमा हस्तलिखित एक अपिल र तस्विरहरु राख्दै आफ्नी श्रीमति मेनुका बोहोरा क्षेत्रीको खोजीका लागि नेपाली समुदायलाई गुहारेका छन् ।

भण्डारीका अनुसार, वि.स. २०७१, चैत ४ गते बेलायत आएकी मेनुकाले गत वर्ष २९ मे, २०१९ मा नेपाल फर्कन ओमान एयरको टिकट काटिसकेकी थिइन् । तर, फर्कनु ठिक एक सातादेखि उनी सम्पर्कविहीन भएको र पटकपटक सम्पर्क गर्न खोज्दा मोबाइल अफका कारण सम्पर्क हुन नसकेको भण्डारीले उल्लेख गरेका छन् ।

आफूहरुबीच राम्रो सम्बन्ध रहेको र कुराकानी हुने गरेको बताउंदै भण्डारीले भनेका छन्, ‘मैले नेपालको परराष्ट्र मन्त्रालयमा पनि श्रीमति खोजतलास गरिदिन ०७६ असोज ५ मा निवेदन हालें तर खबर आएन । यूके बस्ने साथीहरुसंग पनि सहयोग मागें तर कतैबाट खबर नआएपछि यो पत्र लेखेको छु ।’

मेनुका बोहोरा क्षेत्री

आफ्नी श्रीमतिसंगका तस्बिर र निवेदनहरु समेत सार्वजनिक गरेका भण्डारीले बेलायतका नेपालीबाट सहयोग अपेक्षा गरेका छन् ।

उता, लन्डनस्थित नेपाली दूतावासले भने मेनुका अध्यागमन कानून उल्लंघन गरेको अभियोगमा ‘डिटेन्सन सेन्टर’ मा रहेको जानकारी पाएको छ । उनका श्रीमानले करिब दुईमहिनाअघि सम्पर्क गरेपछि दूतावासले होम अफिस (गृह मन्त्रालय) लाई सम्पर्क गर्दा मेनुकाले अध्यागमन कानून उल्लंघन गरेकाले हिरासतमा रहेको अवगत गराइएको थियो ।

दूतावासले होम अफिसमार्फत मेनुकासंग सम्पर्क गर्न खोज्दा उनले कसैसंग सम्पर्क र भेटघाट नगर्ने भनेकाले सम्भव नभएको दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता आरनले बताए ।

आरनका अनुसार, सामान्य केसमा होम अफिसले धेरै समय ‘डिटेन्सन’ मा राख्दैन् । तर, मेनुकाको मुद्दा अदालत पुगेकाले केस अलिक जटिल हुन सक्छ र केही समय पर्खनुको विकल्प छैन् । मुद्दा छिनोफानो हुन कम्तीमा एक देखि डेढवर्षसम्म लाग्न सक्ने आरनले बताए ।

आरनका अनुसार, दूतावासले आफ्नो र श्रीमानको नम्बर उपलब्ध गराएपनि मेनुका कसैसंग सम्पर्कमा आएकी छैनन् । उनले नेपालमा आफ्नो घरमा समेत कुरा नगरेको उनकी बहिनीले बताएकी छन् ।

मेनुका सम्पर्कमा आउन नचाहनुलाई भने धेरैले आश्चर्यका रुपमा लिएका छन् । कुनै समय निकट रहेकी एक साथीका अनुसार, मेनुका एकजना विद्यार्थीको अध्ययन शुल्क तिरिदिएर उनीसंगै डिपेन्डेन्ट भिजामा यूके आएकी थिइन् ।

बेलायतमा नक्कली बिहे वा अन्य छलकपट (फ्रड) कामलाई गम्भीर अपराधका रुपमा लिइन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू