शुक्रबार, वैशाख १४, २०८१
10:06 | १४:५१

ब्रिटिश राजकुमारद्वय हयारी विलियमबीच तनावको कारण ‘मेघन’

बिहे अघि मेघनलाई राजपरिवारका सदस्यहरुले अप्रिय टिकाटिप्पणी गरेको दावी

नेपाली लिङ्क जुलाइ २७, २०२०

लन्डन । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमति मेघन मर्केलले राजपरिवारको वरिष्ठ सदस्यका रुपमा आफूहरु जिम्मेवारीबाट अलग्गिने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेपछि विश्व तरंगित भयो । दरबारको सुख सयल र विलासिता त्यागेर एकाएक सामान्य जीवन जीउने घोषणाले सबैलाई अचम्म तुल्यायो ।

ह्यारी दम्पत्तिको शाही भूमिका परित्यागसम्बन्धमा महारानी एलिजावेथ द्वितीयाले लामो छलफल गरेर पछि स्वीकृति जनाइन् ।

यही वसन्त ऋतुदेखि उनीहरुले ‘हिज, हर रोयल हाइनेस्’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिङघम राजदरबारले घोषणा गर्यो ।

अहिले ह्यारीलाई राजकुमार र ड्युक अफ ससिक्स् एवं मेगनलाई डचेस अफ ससिक्स् भनेर मात्र सम्बोधन गरिन्छ । उनीहरु सैन्य नियुक्तिबाट हटेका छन् भने अब बेलायती महारानीको औपचारिक प्रतिनिधित्व समेत हुने छैन् । ‘द ड्युक एण्ड डचेस अफ ससिक्स्’ ले वीन्डजोर बर्कसायरस्थित आफ्नो निवास फ्रगमोर कटेज मर्मतका लागि करदाताबाट लिएको २.४ मिलियन पाउण्ड पनि तिर्ने बताइसकेका छन् ।

हयारी मेगनले त्यतिबेला किन यस्तो अप्रत्यासित निर्णय गरे भन्ने विभिन्न अड्कलबाजी भइरहंदा हालै प्रकाशित एउटा पुस्तकले ब्रिटिश राजकुमार हयारीको आफ्नी प्रेमिका मेघन मर्केलसंगको सम्बन्धलाई लिएर उनको आफ्नै दाजु राजकुमार विलियमसंग तनाव बढेको दावी गरेको छ ।

‘फाइन्डिङ फ्रीडम’ नामक पुस्तकका लेखकले 
राजकुमार ह्यारीले उनकी प्रेमिका मेघनलाई बिहे गर्नु अघि राजपरिवारका सदस्यहरुले उनी विरुद्ध अप्रिय टिकाटिप्पणी गरेको दावी गरेको सन्डे टाइम्समा उल्लेख छ ।

पुस्तकमा राजकुमार विलियमले आफ्ना भाइ हयारीसंग कुरा गर्दा मेघनलाई ‘ती केटी’ भनेर सम्बोधन गरेको उल्लेख छ ।

उक्त पुस्तकले शाही परिबारबाट हयारी मेगनको बहिगर्मन र दुई दाजुभाइबीचको वार्तालाप खुलासा गरेको बताइएको छ । ‘तिमीलाई हतार गर्न जरुरी छ जस्तो मलाई लाग्दैन्’, पुस्तकका अनुसार विलियमले शुरुताका हयारीलाई भनेका थिए, ‘यो केटी (मेघन) लाई बुझ्न जति समय लाग्छ लिनु ।’

मेघन हयारीको जीवनमा आएपछि शाही परिवारका एक वरिष्ठ सदस्यले अमेरिकी नायिका मेघनलाई 
‘हयारीको शो गर्ल’ भनेको पुस्तकमा जिकिर छ ।

हयारी र उनकी श्रीमती मेघन अहिले आफ्नो छोरा आर्चीसहित अमेरिकाको लस एन्जेल्समा बसोबास गर्छन् ।

यसअघि मिडियाले आफूहरुविरुद्ध भ्रामक समाचार छापेको भन्दै कानूनी उपचार समेत खोजेका हयारी मेगन अहिले गुमनाम छन् । ह्यारी दम्पतिले गत अक्टोबरमा शाही जीवनको चुनौति र केही बेलायती अखबारले आफूहरुको पिछा गरेको भन्दै चिन्ता व्यक्त गरेको समाचार प्रकाशित भएका थिए ।

ह्यारीले मिडियाका कारण मेगनले आफ्नी आमा डायनाकै नियति भोग्नुपर्ने त्रास समेत व्यक्त गरेका थिए ।

प्रिन्स हयारीको साइनो नेपाल र गोर्खा सैनिकहरुसंग निकट छ । महाभूकम्प लगत्तै नेपाल भ्रमण गरेका राजकुमार हयारीले उत्तरी गोर्खाको लापु गाउं विकास समितिस्थित प्रभातकिरण निमाविको पुनर्निर्माणमा सघाएका थिए ।

उनले अन्नपूर्ण हिमश्रृंखला तथा बर्दिया राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताएका थिए ।

कुनै बेला अफगानिस्तान युद्धमा संगै रहेका हयारीले गोर्खा सैनिकहरुसंगको सम्बन्धबाट खुशी र गर्व महशुस गर्ने गरेको उनी बताउंछन् । राजकुमार हयारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा गर्दै आएका छन् ।

हयारीले ब्रिटिश गोर्खाहरुसंग र नेपालमा धेरै समय बिताएका छन् । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई हयारीको बहिगर्मन निराशाजनक भएको बताउंछन् । उनीहरुको आधुनिक र स्वतन्त्र बन्ने सोचका कारण यस्तो निर्णय आएको विश्वास राईको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू