शनिबार, वैशाख ८, २०८१
09:08 | १३:५३

अध्यागमनको डरले अस्पताल नजांदा स्कटल्यान्डमा एक नेपाली युवाले ज्यान गुमाए

नेपाली लिङ्क जुलाइ २१, २०२०

लन्डन । स्कटल्यान्डको पर्थमा बस्दै आएका एक नेपाली युवाको निधन भएको छ ।  

दोर्जे भनिने अन्दाजी ३० वर्षीय बन्टी शेर्पाको आइतबार बिहान निधन भएको स्थानीय समाजसेवी भोला खनालले जानकारी दिए ।  

खनालका अनुसार काठमाडौं बौद्ध घर भएका मृतक दोर्जे पछिल्लो ६/७ वर्षदेखि स्कटल्यान्डको पर्थमा बस्दै आएका थिए । उनको परिवार नेपालमै छ ।  

पर्थमा एक बंगलादेशी संचालक रहेको रेष्टुरेन्टमा काम गर्दै आएका दोर्जे गत २ महिनादेखि बिरामी थिए ।  

‘उनको तौल पनि घट्दै गएको थियो । काम पनि छोडेर बसेका रहेछन्’, शनिबार मात्रै दोर्जेलाई खाना पुरयाएर फर्किएका खनालले भने, ‘जांच गराउनका लागि अपोइन्टमेन्ट बुक गरेको छु भन्थे । हिजो एक्कासी नराम्रो खबर सुनियो ।’

स्थानीय नेपालीहरुका अनुसार आइतबार बिहान उनी आफ्नो घरको ढोकानेर ‘कोल्याप्स्’ भएका थिए । उनलाई ढलेको देख्नेहरुले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी र एम्बुलेन्स आइपुग्दा उनको निधन भइसकेको थियो ।  

दोर्जेको शब अहिले डन्डी अस्पतालमा राखिएको छ ।  

स्थानीय नेपालीले बताएअनुसार बिरामी भइ काममा जान नसक्ने भएर घरमै बस्दा समेत उपचारको लागि अस्पताल गएका थिएनन् दोर्जे । कागजको समस्याका कारण अस्पताल जाँदा केही झमेला आइपर्छ कि भनेर उनी डराएका थिए । उनका केही साथीभाइ र स्थानीय नेपालीले उनलाई सहयोगस्वरुप खाना पुरयाउने गरेका थिए ।  

दोर्जेका साथीहरुमार्फत केही दिन अघि उनको सम्पर्कमा पुगेका एनआरएनए इङ्ल्यान्ड उपाध्यक्ष एलबिजेड गुरुङ भन्छन्, ‘शनिबार मैले पनि कुरा गरेको थिएँ । अस्पताल जानुपर्छ भनेर सम्झाएको थिएं । आउंदो साता डाक्टरलाई भेट्ने कुरा सुनाएका थिए ।’

एनआरएनए स्कटल्यान्डका अध्यक्ष छबिलाल अर्यालले पनि दोर्जेलाई केही सहयोग चाहिन्छ कि भनेर कोशिस गरेको सुनाए ।  ‘शुक्रबार मैले नै टेलिफोन गरेको थिएँ । अहिले ठीक छ । विहीबार चेक गराएपछि केही सहयोग आवश्यक पर्‍यो भने खबर गर्छु भनेका थिए’,  अर्यालले भने ।

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले स्थानीय प्रहरीबाट दोर्जेको मृत्‍युबारे दूतावासलाई कुनै जानकारी आइनसकेको बताए । स्थानीय नेपाली समुदायका अगुवा र मृतकका केही आफन्तसंग भने दूतावास सम्पर्कमा रहेको उनले बताए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू