शनिबार, वैशाख ८, २०८१
00:01 | ०४:४६

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, १ सय १६ संक्रमित

हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २५

रासस जुलाइ १५, २०२०

काठमाडौं । नेपालमा थप ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ । तीमध्ये छ हजार ११४ जना सक्रिय सङ्क्रमित छन् ।

प्रवक्ता डा गौतमका अनुसार आज देखिएका सङ्क्रमितमध्ये सुर्खेतमा २८, सप्तरीमा १३, नवलपरासी (पूर्व) मा ११, म्याग्दीमा नौ, चितवनमा आठ, काठमाडौँमा सात, धनुषामा छ, रौतहटमा पाँच तथा कास्की, तनँहु, सल्यान र दैलेखमा तीन-तीन जना छन् । यस्तै डडेल्धुरा, जुम्ला र सल्यानमा दुई-दुई जना तथा धनकुटा, मोरङ, ताप्लेजुङ, नुवाकोट, सिन्धुपाञ्चोक, धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एक-एक जनामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी आजै देखिएका सङ्क्रमितध्ये प्रदेश तहमा प्रदेश नं.१ मा तीन, प्रदेश नंं २ मा २४, वाग्मतीमा १८, गण्डकीमा २७, प्रदेश नंं ५ मा एक, कर्णालीमा ४० र सुदूरपश्चिम प्रदेशमा तीन छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ६९७ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २५ रहेको छ । डिस्चार्ज हुनेको सङ्ख्या कूल सङ्क्रमितको ६४.२ प्रतिशत हो । आज मात्र भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला सङ्क्रमित मुक्त जिल्ला भएका हुन् । अहिले २४ हजार ५२७ जना क्वारेन्टिनमा र ६ हजार ११३ जना आइसोलेशनमा रहेका छन् ।

थप एकको मृत्यु, निधन हुनेको संख्या ३९
नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट परहवा नगरपालिका–७ का ३६ वर्षीय पुरुष छन् । नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

उनका अनुसार ती व्यक्तिसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । मृतक भारतको बैङ्गलोरबाट यही असार २४ गते फर्की पारहवाकै आइसोलेशनमा बसेका थिए । उनी कोभिड–१९ का कारण मृत्यु भएका आफ्ना दाइको अन्तिम संस्कारका लागि भारतको बैङ्गलौर गएका थिए ।

आइसोलेशनमा बसेका बेला यही असार २९ गते रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोहीदिन अस्पतालमा भर्ना गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । स्वास्थ्यमा थप समस्या देखिएपछि आजै भेन्टिलेटरमा उपचारका क्रममा उनको निधन भएको हो ।

ती व्यक्तिको स्वाब सङ्कलन गरी हेटौँडास्थित प्रयोगशालमा परीक्षण गर्दा आज कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू