शुक्रबार, मंसिर २१, २०८१
18:03 | २३:४८

सार्क मुलुकमा नेपाल पिसिआर परीक्षणमा अगाडि

शरद शर्मा, सञ्चिता घिमिरे/रासस जुलाइ ८, २०२०

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–-१९) कोे स्वाब परीक्षण गराउँदै । तस्वीर- रोशन सापकोटा/रासस

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ ।

प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालको प्रति दशलाखमा नौ हजार १५६ जनाको परीक्षण भएको छ ।

शुरुमा एक ठाउंबाट गरिएको पीसीआर परीक्षण अहिले देशभर २५ वटा प्रयोगशालाबाट गरिन्छ । नेपालपछि प्रति दश लाख जनाको पीसीआर परीक्षणमा भारतमा ७ हजार ५८८, पाकिस्तानमा ६ हजार ६४०, बङ्गलादेशमा पांच हजार ४१६, श्रीलङ्कामा पांच हजार ३५९ र अफगानिस्थानमा एक हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाको पीसीआर परीक्षण गरिएको छ भने विगत २४ घण्टामा चार हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । नेपालमा कूल १६ हजार ४२३ जना सङ्क्रमित भएका छन् । तीमध्ये सात हजार ७५२ जना निको भई घर फर्किसकेको उनले बताए ।

प्रवक्ता डा गौतमका अनुसार सार्क मुलुकमध्ये नेपालमा कोभिड–१९ का कारण प्रति दश लाखमा एक जनाको मात्र मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणले ३५ जनाको मृत्यु भएको छ । यस्तै कोभिड–१९ का कारण प्रति दश लाखमा अफगानिस्तानमा २४, बङ्गलादेशमा १३, श्रीलङ्कामा ०.५, पाकिस्तानमा २२ र भारतमा १५ जनाको मृत्यु भएको छ ।

थप २५५ जनामा कोभिड–१९ सङ्क्रमण

नेपालमा थप २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार यहां आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा चार हजार ६९६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो संगै सङ्क्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाको नमूना परीक्षण भइसकेको छ । हाल क्वारेन्टिनमा २५ हजार ४० जना र आइसोलेशनमा आठ हजार ६३६ जना रहेका छन् । कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २५३ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या सात हजार ७५२ छ । जम्मा सङ्क्रमितमध्ये ४७ दशमलव दुई प्रतिशत निको भएको उनले बताए ।

हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको संख्या एक लाख ५७ हजार ८८० छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८५ हजार ९०१ छन् । आज मात्रै एक सय जनाले इन्ट्री गरेकामा रेड जोनमा कोही पनि नपरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वेबसाइट हेर्नेको संख्या २९ लाख ५९ हजार १४० पुगेको छ भने भाइबर गु्रप प्रयोगकर्ता चार लाख १३० रहेका छन् । सार्क देशमध्ये कोरोना परीक्षण दर प्रति दश लाख जनसङ्ख्यामा नेपाल अफगानिस्तान, पाकिस्तान, भारत, श्रीलङ्का र बङ्गलादेशभन्दा अगाडि रहेको पनि उनले बताए ।

कोरोना परीक्षण शुल्क लिए कारवाही गर्ने

प्रवक्ता गौतमले कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणबापत रकम लिने गरेको मन्त्रालयमा जानकारी आएको बताए । सरकारी खर्चमा नै परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कारवाही हुने उनले बताए । मन्त्रालयले अत्यावश्यक कामका लागिभन्दा बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न नागरिकलाई अनुरोधसमेत गरेको छ ।

बन्दाबन्दी खुकुलो भएसंगै कार्यालय, पसल र सडकमा भीडभाड बढेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यसले जोखिम निम्ताउने उनको भनाइ छ । उनले चिया पसलमा भीडभाड गर्नुको साटो घरभित्रै परिवारसँग बस्न सबैलाई अनुरोध गरेका छन् । उनले भने, “चाडपर्व, जात्रा, मेला अरू समयमा पनि आउने भएकाले अहिले नागरिकले स्वास्थ्य सावधानी अपनाउनुपर्छ ।”

प्रवक्ता गौतमले कतिपय स्थानमा सङ्क्रमणमुक्त भएर घर फर्किएकालाई समेत परिवार र समुदायले घर छिर्न नदिएको भन्ने खबर आइरहेको बताए । त्यस्ता व्यक्तिलाई परिवार र समाजले राम्रो व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।

उपत्यकामा थपिए २३ सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६ र ललितपुरमा ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौंका १० र ललितपुरका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू