शुक्रबार, चैत १६, २०८०
06:23 | १२:०८

विदेशमा कोभिड १९ बाट थप १३ नेपालीको मृत्यु

नेपाली लिङ्क जुलाइ ५, २०२०


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट गएको एक साता भित्र विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा थप ६, भारतमा ५, ओमान र कुवेतमा एकरएक नेपालीको मृत्यु भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १ सय ४३ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ । विदेशमा सबै भन्दा बढी बेलायतमा ६७ जना नेपालीको मृत्यु भएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ । शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने २५ हजार २ सय २६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

२१ देशबाट १८ हजारभन्दा बढीको उद्धार
यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीको उद्धारको कामले तीव्रता पाएको छ । एनआरएनए र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट एक महिनाको अवधिमा २१ देशमा रहेका १८ हजार २ सय ९३ नेपालीको उद्धार गरिएको संघले जनाएको छ ।

अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यान्मा, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बङ्गलादेश, मलेसिया, माल्दिभ्स, श्रीलङ्का, युएई, साउदी अरब, सिङ्गापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायत मुलुकमा रहेका नेपाली स्वदेश फर्किएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू