शुक्रबार, वैशाख ७, २०८१
01:39 | ०६:२४

कोरोना महामारीले सताएन मात्र, धेरै कुरा सिकायो पनि

कृष्ण तिमल्सेना जुलाइ ३, २०२०

लन्डन । कोरोना भाइरसको महामारीले सिंगो विश्व आक्रान्त छ । आफूलाई संसारकै सर्वशक्तिमान ठान्ने महाशक्ति राष्ट्रहरु समेत यो अदृश्य भाइरसका अगाडि निरीहजस्तै बन्न बाध्य भएका छन् ।

कोरोना संक्रमणका कारण लाखौं मानिसले ज्यान गुमाउनु परेको छ । संक्रमित हुनेहरु त अहिले करोड पुगिसकेका छन् । यो महामारीले निम्त्याएका पारिवारिक वियोग, पीडाको हिसाब गर्ने हो भने झन् त्यसबाट प्रभावितको संख्या निकै धेरै हुन पुग्छ ।

कोरोनाको असर स्वास्थ्य र भौतिक रुपमा मात्र छैन । आर्थिक हिसाबले पनि सारा विश्वलाई नै तहसनहस जस्तै पारिदिएको छ । लाखौंको रोजगारी गुमेका छन्, धेरैले गरी खाने व्यापार, व्यवसाय बन्द हुन पुगेका छन् । आर्थिक रुपमा संसारकै समृद्ध राष्ट्रकै अर्थतन्त्र समेत संकटमा छन् ।

सबैतिर यति धेरै नोक्सान परिसकेको छ कि महामारी नियन्त्रण भइसकेपछि पनि पहिलेकै अवस्थामा फर्किन वर्षौं लाग्ने निश्चत छ । कोराना महामारीले चौतर्फी रुपमा समस्या, नोक्सानी, अभाव, पीडा पुरयाइरहेको तथ्य लुकेको छैन ।

भाइरस संक्रमण रोक्न जारी लकडाउनले विशेषगरि नेपालजस्ता गरिब मुलुकका बासिन्दा भोकै मरेका छन्, आत्महत्या दर बढेको तथ्यांकहरुले देखाउंछन् । कोभिड १९ लाई पराजित गर्ने र रोगै नलागेका पनि मानसिक समस्याबाट प्रताडित भएको पाइएको छ । आफूलाई सम्हाल्न नसक्दा, अरुका कहालीलाग्दो समस्या देख्दा मानिस ‘डिप्रेसन’ को शिकार भएका पनि स्वास्थ्यवीदहरुको अनुभवले बताउंछ । सारमा कोभिड १९ ले धेरैलाई विचल्ली र विनास बनाएको तथ्य हामीबाट छिपेको छैन् ।

तर यीनै नकारात्मक असरहरुबीच पनि यो महामारीले मानव जातिलाई कयौं कुरा सिकाएको छ । मेरो व्यक्तिगत बुझाइमा यो महामारीले धनी गरिबको खाडल पुरेजस्तो लाग्छ । बिलिनियरदेखि सामान्य गुजारा चलाउन रातदिन जोतिने श्रमिक पनि यसबाट अछुतो रहेनन् । महामारीले धनी गरिब भेदभाव नगर्ने रहेछ, जति नै पैसा खर्च गर्न सक्ने पनि यो भाइरसका अगाडि कमजोर हुने रहेछ भन्ने प्रमाणित गरेको छ ।

अर्को कुरा, कोभिड १९ बाट हामी थप संयमित बन्न सक्यौं । पहिला बांचौं, देख्न, भोग्न र प्रगति गर्न त भविष्य भइहाल्छ नि भन्ने सोचको विकास गराएको भान मलाई भएको छ । मानिसहरु जागिर र व्यवसायको वास्ता नगरि संयमता अपनाएर घरैमा बसे ।

आत्मबल नै भाइरससंग लड्न सक्ने एउटा अस्त्र रहेछ भन्ने कुरा देखियो । जति धेरै डर, त्रास महशुस गरयो, उति आत्मबल कमजोर हुने र कोभिड १९ ले आक्रमण गर्ने उदाहरण हामीले देख्यौं ।

सामाजिक अभियन्ता भनिने हामीहरु ‘कोभिड १९’ अघिसम्म खुबै दौड्ने गर्दथ्यौं समारोहतिर । खादा, माला र आतिथ्य ग्रहण हाम्रा दैनिकी थिए । माइकमा बोल्न नपाउंदाको छटपटाहटले हामी तड्पिन्थ्यौं । त्यसो त सामाजिक उपस्थिति नभए पछि परिने डर पनि हुन्थ्यो । यो अनिवार्य दिनचर्या थियो । यो व्यस्तताले हामीले घर परिवारलाई पर्याप्त समय दिन पाएका थिएनौं । जागिर र कार्यक्रम भन्दैमा समय बित्थ्यो । घर परिवारको रेखदेख गर्ने फूर्सद हामीलाई कहिल्यै जुर्थेन । तर, कोभिड १९ ले परिवारसंगै समय बिताउन राम्रो मौका मिल्यो । घर परिवारलाई समय दिन यो जस्तो सुअवसर यसअघि कहिल्यै भए जस्तो लागेन मलाई ।

हाम्रो देश नेपालको लागि यो महामारीले दीर्घकालमा अर्को एउटा महत्वपूर्ण हित गर्नेछ भन्ने मलाई आशा छ । अहिले विदेशमा श्रम गरिरहेका धेरै नेपालीहरु असुरक्षित महसुस गरेका छन् । महामारीले आफ्नो देशको महत्व थप बुझाइदिने काम गरेको छ । जे जस्तै अवस्था र समस्या भएपनि आफ्नै देशमा, आफ्नै घरपरिवारसंग रहन पाए हुन्थ्यो भन्ने भावना धेरैमा पलाएको छ ।

त्यसैले स्वेच्छाले होस् वा विदेशको रोजगारी गुमाएर, अब महामारीपछि धेरै नेपाली स्वदेश फर्किदैछन् । विदेशमा अर्काको लागि गरेको दुःख सम्झिएर उनीहरुले आफ्नै देश, आफ्नै माटोमा परिश्रम गर्नेछन् । यसो हुन सक्यो भने उनीहरुको मात्र होइन्, सिंगो देशकै मुहार फेरिन शुरु हुनेमा कुनै शंका छैन ।

त्यसकारण कोभिड १९ का कारण हामीले गुमाएका मात्र छैनौं, जीवनमै धेरै पाठ पनि सिकेका छौं । धेरै अवसरहरु पनि पाएका छौं । नकारात्मक सोच त्यागौं, खुशी र सुखी रहौं । आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकता दिउं, समाज र राष्ट्रलाई गर्ने समय त छंदैछ ।

(एनआरएनए युरोप क्षेत्रका उपसंयोजक तिमल्सेना बेलायतस्थित एक समाजसेवी, व्यवसायी र नेप्लिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष हुन् । यो लेख उनीसंगको कुराकानीमा आधारित छ)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू