शुक्रबार, चैत १६, २०८०
21:15 | ०३:००

आज असार पन्ध्र, दहीचिउरा खाने दिन

असार १५ लाई ०६२ सालदेखि धान दिवसका रूपमा मनाइंदै

नेपाली लिङ्क जुन २९, २०२०

लन्डन  । असार १५ लाई नेपालमा परम्परागत रूपमा दहीचिउरा खाने दिनका रूपमा मनाइन्छ । यसैगरी असार १५ लाई नेपाल सरकारले वि.सं. २०६२ सालदेखि धान दिवसका रूपमा मनाउँदै आएको छ ।

कृषिप्रधान देशको रुपमा परिचित नेपालमा यस दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा हेरिन्छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोप्ने प्रचलन छ ।

युवा तथा युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने गर्छन् ।

असार १५ र दहीचिउराको महत्व

असार १५ भन्ने वित्तिकै दहीचिउरा खाने दिन भनेर चिनिने परम्परा छ । दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दहीलाई पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थको रुपमा मानिन्छ ।

हाम्रो संस्कृतिमा दहीलाई शुभ कार्यको प्रतिक मान्ने गरिन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीचिउरा खाँदै आनन्द लिने गर्दछन् ।

चिउरा कार्बोहाइड्रेडको स्रोत भएकोले दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिने भएकोले स्वास्थ्यको दृष्टिकोणले पनि दहीचिउरा खानु उत्तम मानिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू