बिहीबार, वैशाख १३, २०८१
18:50 | २३:३५

बेलायतमा कोरोनाबाट बितेका दम्पतिको परिवारलाई सहयोग

नेपाली लिङ्क जुन २९, २०२०

लन्डन । कोरोना संक्रमणका कारण १० दिनभित्र ज्यान गुमाएका वृद्धवृद्धाको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

पर्वत वेलफेयर सोसाइटी यूकेले पर्वत स्थायी घर भइ बेलायतको क्याम्बर्ली बस्ने पूर्व गोर्खा दुर्गाबहादुर गुरुङ र उनकी पत्नी देउमायाको परिवारलाई १२९७ पाउण्ड सहयोग गरेको हो ।

सोसाइटी अध्यक्ष नेत्र आले, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, कोषाध्यक्ष सुरज पौडेल र सदस्य अप्सरा गुरुङले स्वर्गीय दम्पतिका भान्जा मीन गुरुङलाई उनकै निवास स्यान्डहस्र्ट गएर आर्थिक सहयोग प्रदान गरेका हुन् ।

७६ वर्षीया पत्नी देउमायाको गत मे १३ तारिख र पति दुर्गाबहादुरको १० दिनपछि मे २३ का दिन कोरोना संक्रमणबाट निधन भएको थियो ।

रकम हस्तान्तरणपछि अध्यक्ष आलेले थोरै भएपनि सहयोग गर्नु आफूहरुको दायित्व भएको बताए ।

‘हामीले जिल्लावासी दुई अभिभावकलाई छोटो अन्तरालमा गुमायौं । उक्त ह्दयविदारक घट्नाप्रति हामी दुःखी छौं’, आलले भने ।

कार्यक्रममा सोसाइटीका कोषाध्यक्ष सुरज पौडेलले महामारीका बीच स्वतस्फूर्त चन्दा प्रदान गर्ने सबै दाताप्रति आभार व्यक्त गरे ।

रकम प्राप्त गरेपछि दिवंगत दम्पतिका भान्जा मीन गुरुङले संस्था र दाताप्रति कृतज्ञता व्यक्त गरे । ‘मामा माइजु गुमाउनु पर्दाको पीडादायी क्षणमा सोसाइटीको सहयोग हामी परिवारले विशेष महत्वका रुपमा लिएका छौं’- मीनले भने । मीनले उक्त रकम छिट्टै नेपालमा परिवारलाई पठाइने बताए ।

पर्वत भोर्ले पुरख्यौली घर भएका गुरुङको परिवार पछिल्लो समय रुपन्देहीमा छ । सिक्स गोर्खा राइफल्समा १२ वर्ष सेवा गरेका स्वर्गीय दुर्गाबहादुर सन् १९७० मा रिटायर्ड भएका थिए । स्वर्गीय दम्पति बेलायतमा बस्दै आएपनि छोराछोरीहरु नेपालमै छन् । उनीहरुका कान्छा छोरा र एक छोरी नेपालमा छन् भने जेठा छोराको मृत्यु भइसकेको छ ।

तस्बिर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू