शुक्रबार, वैशाख ७, २०८१
17:13 | २१:५८

इको-प्रेमपत्र !

विजय हितान जुन २९, २०२०

प्रिय परदेशी,

गएको हिउँद तिमी मेरो शहर भएर विदेश उड्दा भनेका थियौ, ‘तिम्रो बाउआमाले मलाई घरजवाइँ बनाएर राखे पनि म बस्ने छैन तिम्रो शहरमा ।’

थाहा थियो हाम्रो प्रेम सदाबहार रेनफोरेष्ट झै मैलाउंदै थियो । तापनि किन तिमीले मलाई प्लास्टिक फोहरमैला जत्तिकै फ्याकेर तिमी प्रवास लागेका थियौ ।

खै, तिमीले कत्तिको याद गर्‍यौ, त्यसपछि सुकेको घांसे मैदान जस्तै मेरो संवेदनशील मन डढेलोमा लपेटिएर आयो । पर्खी बसें, कोही आएर दन्केको आगो बुझाइदिन्छ कि भनेर । को आउंथ्यो र बुझाउन ? महिनौसम्म जलि नै रहें ।

अहिले आएर जलवायु परिवर्तनको प्रभाव जस्तै परिरहेको छ यो मनमा । सुनाउन पो भएको छैन र कसैलाई ।  

तिम्रो गाउँजस्तो कहाँ हुन्छ र मेरो शहर ? स्वच्छ, शून्य र जताततै हरियाली । शहर त हल्ला र कोलाहलको अन्तरघुलन हो । दुर्गन्ध  र सुगन्धको मिश्रण अनि धुलो धुँवाको संगम पनि ।

अनि शहरभित्रको यीनै परिवेशमा समाहित पार्दै आफूंलाई जिउन बाध्य भएकी छु म भने । तिमी फर्केर आउने दिनहरु आकाशका चराहरु हेरेर गन्दै ।

सुन त, तिमीले भिसामा च्यापेर लगेको मेरो शहरको अनुभव अहिले भने त्यस्तो छैन । थाहै होला तिमीलाई आजकल-उड्न, गुड्न, कुद्न  र चल्न सबै सबै बन्द भइसकेका छन् मेरो शहरमा । हिजोआज त तिमी, मेरो आँखामा सहजै झल्केको देख्न सक्नेछौ हिमाल । मेरै आँखीभौंको कौसीबाट हरदिन मुस्काइरहेको हुन्छ चोमोलोङ्मा ।

तिमी यहाँ भएको भए मेरो कानको नजिकै आएर अहिले प्रेमका सुसेली हाल्न सक्ने थियौ । तिम्रा ती संगीतका धुनसरी कानेखुशीहरु म सुनिनै रहने थिएँ । किनकी मलाई सुन्नुछैन आजभोलि- सवारी साधनका कर्ण छेदन हर्नहरु ।

सुन्नुछैन विवाह भोज र भजनबाट कुर्लने माइकहरु ।अनि सुन्नुछैन जेटइन्जिनबाट निस्कने गगनभेदी ध्वनिहरु । नढांटी भनु भने, म व्याकुल छु सुन्न तिम्रा उही रोमान्टिक वाक्य- आई लभ यू !

आजकाल मेरो नाकले न त ट्याम्पुबाट निस्कने नाइट्रोक्स अक्साईड गन्ध सुंघ्न परेको छ, न इट्टाभट्टाबाट उत्सर्जित धुवाँको मुस्लो । किन हो निस्कदैन आजकल त धारामा गएर नाक सफा गर्दा खैरो लेदो ?

बरु कहिले फर्कन्छौ ? भन, म आतुर छु तिम्रो न्यानो श्वासको प्रेमगन्ध सुंघ्न ।    

एउटा कुरा । लामो समय घरभित्र बस्दाबस्दा अत्यास लागेर आयो । अनी अस्ती स्कुटीमा हावा खान बाहिर निस्केकी थिएँ ।

चिल्ला बनाइएका रहेछन् सडक । बिच्छ्याएर अलकत्र र कोरेर सेता धर्का ।

पच्छ्याउंदै तिनै धर्कालाई र क्रस गर्दै जेब्रा क्रसिङहरुलाई हुइँकाए स्कुटी ।

पुल्चोक काटेर पारी तर्दा ठुस्स गनाएन बागमती पहिलाको जस्तो । पोतिएन हेलमेटमा फुस्रो रङ । ठोक्किएनन् ओठमा पिएम १० का धुलाका कण ।

अनि पुतलीसडकबाट हिंडेर पुग्दा बागबजार लागेन रत्तिभर मैला मेरो सेतो सेन्डलमा । बसेनछ कुनै दाग नङ पोलिस पोतिएका मेरा खुट्टाका औंलामा । पखाल्न परेन महँगो खर्च गरेर ब्युटिपार्लरमा मेरो सुनकेशरी कपाल घर पुगेपछि अर्को दिन ।  

त्यसैले मलाई लागिरहेछ मेरो शहर तिमीले छोडेर गएको जस्तो प्रदुषित पक्कै छैन अहिले । अहिले त यहाँको  वातावरण तिम्रै गाउँ जस्तै स्वच्छ भएको हुनपर्ने । त्यसैले, फर्केर आउ छिट्टै मेरो अंगालोमा बेरिन । हैन भने, चार्टर गरेर पठाउन नपरोस् तिमीलाई उद्धार गर्न मेरो सपनाको प्लेन ।

अन्त्यमा, तिमी फर्केर आयौ भने क्वारेन्टिनमा बस्न पर्नेछैन । म सिधै तिमीलाई दिलको घरभित्र प्रवेश हुन दिनेछु ।

बन्दाबन्दीले स्वच्छ बनेकी उही तिम्री,
प्रकृति

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू