शुक्रबार, चैत १६, २०८०
13:07 | १८:५२

नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

मृत्यु हुनेको सङ्ख्या २८

रासस जुन २७, २०२०

काठमाडौं । नेपालमा थप ५५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १२० महिला र ४३४ पुरुष गरी कूल ५५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १२ हजार ३०९ पुगेको छ ।

मन्त्रालयकाअनुसार नेपालका ७७ वटै जिल्लामा नै सङ्क्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

एकैदिन १३६ जना डिस्चार्ज

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १८ महिला र ११८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार ८३४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा मुलुकको २२ वटा प्रयोगशालामा पीसीआर विधिबाट चार हजार ६०६ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा तीन हजार ६८५ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार ६५ हजार ७१२ जना क्वारेन्टिनमा र नौ हजार ४४७ जना आइसोलेशनमा रहेका छन् ।

थप एकको मृत्यु

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–७ का एक ५० वर्षीय पुरुष रहेको बताइएको छ । उनी फोक्सोको क्यान्सरको बिरामी थिए । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

प्रवक्ता गौतमले भने, ‘आज हाम्रो अनुरोध छ, विश्वव्यापी कोभिड–१९ महामारीका सन्दर्भमा विभिन्न भ्रमहरु फैलाउने क्रम देखिँदै आएको छ, यो रोग विश्वव्यापी रुपमै नयाँ रोग हो, यसको रोकथाम र नियन्त्रण उपायबारे धेरै वैज्ञानिक अध्ययन–अनुसन्धानमा लागिरेहका छन् तर पनि विभिन्न समयमा व्यक्ति वा समूहको निहित स्वार्थका कारण भ्रम सिर्जन गर्ने काम भइरहेको छ, भ्रमबारे मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दछौँ ।’

उनले ‘भाइरस रिमुभिङ कार्ड’ पत्ता लागेको र त्यसलाई घाँटीमा झुन्ड्याएमा कोरोना निको हुन्छ भनेर अनावश्यक भ्रम फैलाएको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू